७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको सेवा लिन तीन दिन



९ बैशाख, बाबियाचौर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दालाई गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि ३ दिन लाग्ने गरेको छ ।

यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताइन् ।

“चुनावमा सिंहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ”, पुर्जाले भनिन्, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।”

नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहेकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन लाग्ने बताइन् । ४स सय २० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन । महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिका हुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन ।

करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भने, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती व्यहोर्नु परेको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतबार ००:००