७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक



५ वैशाख, हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिएका छन् । पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी भएका हुन् ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियान अन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिएका हुन् ।

मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिएका छन् । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश नं ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताए ।

शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गरेका छन् ।

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गरेका छन् । सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गरेका छन् ।
रासस

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ००:००