५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी नदीबाट नदीजन्य वस्तुको अबैध उत्खनन र चोरी निकासी



२९ चैत, बाबियाचौर– म्याग्दी ।
बेनी नगरपालिका १ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो ।

नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए ।

केही दिनयता अनुमतिविना नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् । जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीको धार परिवर्तन भई कटानको जोखिम बढेको छ ।

आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले ७ लाख ५० हजारमा ठेक्का दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा माइकलले बताए ।

नगरपालिका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटकपटक योजनाको माग गरे पनि बजेट विनियोजन नभएकाले बाध्य भएर नगरपालिकाका जनप्रतिनिधिहरुको सहमतिमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिएको थापाले दाबी गरे ।

जिल्ला समन्वय समितिका सूचना अधिकृत पद्म भण्डारीले स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिल्ला समन्वय समितिले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का नलगाएको बताए ।

बस्ती जोखिममा पर्छ भनेर सरकारी निकायलाई उत्खनन गर्न नदिने तर स्थानीय बासिन्दाले जथाभावी रुपमा उत्खनन गर्नु उपयुक्त नभएको भण्डारीको दाबी छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले उत्खननमा प्रयोग भएका उपकरण र सवारी साधन मंगलबार दिउँसो नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिको जिम्मा लगाएको बताइन् ।

गत माघमा पनि बेनीनगरपालिका–१ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर समितिलाई बुझाएको थियो । प्रहरीले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रनाउ खड्काको गुनासो छ ।

बेनीनगरपालिका ५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । जसका कारण नदी गहिरिएर वरपरका बस्ती र जमिन कटानको जोखिममा परेको गुनासो उनीहरुको छ ।
रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार ००:००