६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरीका कङ्क्रिड हटाइने, पुरातत्वको दोहोरो चरित्रः प्रमुख शाक्य



शर्मिला पाठक
२२ चैत, काठमाडौं ।
रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको हो ।

अबको केही दिनमै रानीपोखरी पुनःनिर्माणको क्रममा प्रयोग भएको कङ्क्रिड हटाउन शुरु हुनेछ । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयको दबाबपछि करिब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो ।

रोकिएको काम सुरु गर्न आज संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीचको छलफलले यस्तो निर्णय गरेको हो ।

बैठकमा मन्त्री अधिकारीले साझा मत निर्माण गरेर यथाशीघ्र काम थालनी गर्न आग्रह गर्दै अन्य निकायले स्थानीय सरकारको सहयोगी भएर काम गर्नुपर्ने बताए । जसले बनाए पनि सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबै सहयोगी हुनुपर्ने उनको धारणा थियो ।

महानगर प्रमुख शाक्यले पुरातत्व विभागले देखाएको दोहोरो चरित्रका कारण महानगरलाई अनावश्यक दोष आएको बताउँदै भने, “आफ्नो उद्देश्य सम्पदाको संरक्षण गर्ने हो, मापदण्डका विषयमा कुरा गरौं, सहमति गरौं, एउटै मापदण्डका आधारमा पुनःनिर्माण सम्पन्न गरौं ।”

विभागका महानिर्देशक दाहालले पोखरीको किनारामा निर्माण गरिएको पर्खाल भत्काउनुपर्ने तर बाल गोपालेश्वर मन्दिरको जगमा विभागले बनाएको कंक्रिटको संरचना भत्काउनुनपर्ने बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले रानीपोखरी पुननिर्माणको विषय व्यक्तिगत नभएको जनाउँदै सबैको भनाइलाई आत्मसाथ गर्दै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

अहिले पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातत्व विभागले गरिरहेको छ । बैठकमा कामपाले विज्ञहरुको प्रतिवेदन अनुरुप काम गर्नुपर्ने धारणा राखेको थियो भने विभागका अधिकारीले परम्परागत शैलीमा निर्माण गर्नुपर्ने जोड थियो ।

रानीपोखरी पुनःनिर्माणको क्रममा अहिलेसम्म छेउछेउमा पर्खाल लगाउने काम कामपाले गरिरहेको थियो भने बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम पुरातत्व विभागले गर्दै आएको छ । यसैबीच महानगरले आगामी जेठ १५ देखि काष्ठमण्डप पुनः निर्माण शुरु गर्दैछ ।
रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार ००:००