१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरीको धमिलो पानी खान बाध्य जनता भन्छनः पानी ल्याउनेलाई भोट



सिम्ता गाउँपालिका–६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले सम्झेदेखि भेरी नदीको पानी पिउन थालेको बताउँछन् ।

सिम्ताको राकमबासीका बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएको उनले बताए । सिम्तावासीले वर्षायाममा पिउने पानीको समस्या झेल्दै आएका छन् । वर्षायाममा पनि भेरी नदी पूरै धमिलो हुने भएपका कारण पानी कपडामा छान्दै खानुपर्ने बाध्यता भएको उनले बताए ।

छिन्चु जाजरकोट सडकखण्डमा पर्ने यहाँका होटलहरूले समेत भेरी नदीको फोहोर पानी प्रयोग गर्दै आएक छन् । फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने गरेको उनले बताए । हुनेखानेले बोतलको पानी किनेर खाए पनि आर्थिक अवस्था कमजोर भएका स्थानीयले भेरीको धमिलो पानी पिउन बाध्य छन् ।

यहाँका स्थानीयवासीले धेरै पटक नेता र कर्मचारीलाई खानेपानीको समस्याबारे जानकारी गराएको भएपनि अहिलेसम्म हल हुन सकेको छैन । “कसैले हुन्न भन्दैनन् । तर काम कसैले गर्दैनन्,” ५६ बर्षिया आइती पुनले दुखेसो गरिन् ।

यहाँका करिब ५ हजार घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य छन् । खानेपानीको समस्या झेलिरहेको राकम जाजरकोट र सल्यानको सिमानामा पर्छ । “सडक आयो, बिजुली आयो तर पानी आएन , होटलमा बस्ने ग्राहकहरूले भेरीको पानी प्रयोग गरेको देख्दा गाली गर्छन्,” आइतीले भनिन् ।

नजिक पानीको मुहान नभएको र टाढाबाट ल्याउन लागत धेरै पर्ने भएकाले खानेपानी समस्या झेल्न बाध्य भएको अर्का स्थानीय बलबहादुर हमालले बताए ।

“जसले खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता गर्छ, उसैलाई भोट हाल्छौं,” हमालले भने, “काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी भोट दिन्नौं ।” राकमबासीले खानेपानीको समस्या झेलिरहेको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले स्वीकारे ।

रासस

प्रकाशित मिति : २६ चैत्र २०७३, शनिबार ००:००