१३ चैत, सल्यान ।
जिल्लाका खानेपानी अभाव भएका छ विद्यालयमा खानेपानी योजनाको काम शुरु भएको छ । दुर्गम गाउँपालिकाका रुपमा चिनिने दार्मा गाउँपालिकाका चार र कुमाख गाउँपालिकाका दुईवटा विद्यालय गरी छ वटा विद्यालयमा खानेपानी निर्माणको काम शुरु भएको हो ।
सेभ द चिल्ड्रेनले स्थानीय साझेदार संस्था दलित विकास समाज सल्यान मार्फत खानेपानी मर्मतको काम शुरु गरेको हो । खानेपानी योजना अन्तर्गत दार्मा गाउँपालिका ६ को जनजागरण आधारभूत विद्यालयसँग १ लाख १२ हजार पाँच, विश्वेश्वर आधारभूत विद्यालय त्रिवेणीसंग ६६ हजार दुईको जनकल्याण आधारभूत विद्यालय झ्यारीवाङसँग १ लाख र नवसर्वसाधारण आधारभूत विद्यालय, भल्चौरसंग एक लाख २९ हजारको सम्झौता गरिएको दलित विकास समाज, सल्यानले जनाएको छ ।
यस्तै, कुमाख गाउँपालिका ७, जिमालीको महेन्द्र मावि जिमालीसंग १ लाख २४ हजार र शान्ति प्रावि, ठाराखोलासंग ९५ हजार सहयोग सम्झौता गरिएको छ ।
विद्यार्थी खानेपानीको सुविधाबाट वञ्चित भएका विद्यालयलाई वडा कार्यालय र गाउँ शिक्षा समितिको सिफारिस मार्फत सहयोग प्राप्त भएको दार्मा गाउँपालिकाका स्रोतव्यक्ति जंगबहादुर बुढामगरले बताए । गाउँपालिकासंग पर्याप्त स्रोत नभएको र विद्यालयको टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयलाई सहयोगका लागि पहल गरिएको स्रोतव्यक्ति बुढामगरको भनाइ छ ।
“कतिपय विद्यालयमा विद्यार्थीले घरबाट बोतलमा बोकेर खानेपानी ल्याउनुपर्ने अवस्था छ” सेभ द चिल्ड्रेन सल्यानकी जिल्ला संयोजक विमला सुवेदीले भने– “विद्यालयमा खानेपानीको सहज पहुँच र विद्यालय सरसफाइमा सहयोग पुगोस् भनेर योजना माग भएका विद्यालयमा काम गरेका हौँ ।” विद्यालयमा पानीको अभाव हुँदा विद्यालयका शौचालय समेत प्रयोगविहीन भएका छन् ।
रासस


प्रतिक्रिया