६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेपाङगाउँमा निःशुल्क दन्त शिविर



८ चैत, सिलिङ्गे– मकवानपुर ।
जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ । नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा मनोज हुमागार्इंले बताए ।

उनका अनुसार मुख्यगरी बालबालिकामा दाँत किराले खाने र वृद्धवृद्धामा गिजाको रोग देखिने गरेको छ । तराईका बासिन्दामा भने क्यान्सर समेत देखिने गरेको धुलिखेल अस्पतालमा कार्यरत एशोसिएसनका महासचिव डा हुमागार्इंले बताए । ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव रहेको र स्वास्थ्य संस्था जाने बानी समेत नभएको पाइएको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर एशोसिएसनले चितवनका विभिन्न संघ संस्थाको सहकार्यमा आजदेखि मकवानपुरको विकट गाउँ राक्सीराङ गाउँपालिका– ६ सिलिङगेमा दुई दिने निःशुल्क दन्त शिविरसमेत आयोजना गरेको छ । यही चैत ६ गते परेको विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत दन्तशिविर शुरु भएको हो । शिविरमा चेपाङ महिला र बालबालिकाको बाक्लो उपस्थिति रहेको छ ।

यसअघि काठमाडौंमा निःशुल्क दन्त परीक्षण, दाँतसम्बन्धी चेतनामूलक कार्यक्रम, टुँडिखेलमा जनचेतनामूलक कार्यक्रम र पत्रकार भेटघाट कार्यक्रम गरी सचेतना जगाउने काम गरेको जनाइएको छ । एशोसिएसनका अध्यक्ष तथा दाँत कीराले खाने रोग सम्बन्धीका विशेषज्ञ डा सन्तोषमान राजभण्डारीले सरकारले दाँत स्वास्थ्यलाई प्राथमिकतामा नराखेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा निःशुल्क औषधिसमेत वितरण गरिएको छ । शिविरमा दाँत निकाल्ने, कीरा निकालेर दाँत भर्ने, परामर्श दिने तथा गम्भीर रोग देखिएमा अस्पतालमा सिफारिस गरिने जनाइएको छ ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००