६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलेवा बिमानस्थलमा शुक्रबारदेखि व्यावसायिक उडान शुरू हुने



६ चैत, बागलुङ ।
यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो ।

बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भने, “धवलागिरिवासीको सपना पूरा भएको छ ।”

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उनको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँ लगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११।१५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो ।

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताए । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उनको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । बागलुङ–काठमाडौंको भाडादर निश्चित भइनसकेको तर ६ हजारको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौं पुग्नेछन् ।

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो ।

बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो । विमानस्थल पुग्न बागलुङ सदरमुकामदेखि ८ किमि कच्ची सडक पार गर्नुपर्ने अवस्था छ । उक्त सडकको स्तरोवृद्धि र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००