१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकार यस्तो अभियान थाले



६ चैत, रोल्पा ।
युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ ।

युवाका लागि गाउँपालिकाले आरन प्रवर्द्धन, ड्राईभिङ, अल्लो भांगो प्रवर्द्धन, मुडा र नमकिन बनाउने लगायतका तालीम सञ्चालन गरिरहेको छ । तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई जीवन उपयोगी बनाउने सोचका साथ अगाडि बढेको उक्त गाउँपालिकाले जनाएको हो ।

गाउँपालिको दलित बाहुल्य सिउरी गाउँका १० दलित युवाका लागि परम्परागत पेशा प्रवर्द्धनमा युवाको आकर्षण समेत बढाउन एक महिने आरन प्रवर्द्धन प्रशिक्षक प्रशिक्षण आयोजना गरेको छ ।

परम्परागतरुपमा सञ्चालन हुँदै आएको सो पेशालाई आधुनिकीकरण गर्न सो तालीम आयोजना गरेका हौँ गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने । परम्परागत पेशालाई स्तरोन्नति गर्दै साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम थालिएको उनले जानकारी दिए ।

जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा उक्त गाउँपालिका महिला र पुरुष गरी २५ जनालार्इ सवारी चालक तालीम दिने तयारीमा छ । तालीमबाट दक्षता हासिल गरेसँगै सबै युवाले सहजै पेशामा आबद्ध हुन सक्छन् अध्यक्ष पुनले भने ।

गाउँपालिकाले महिलाका लागि समेत नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवर्द्धन तालीम सञ्चालन गरेको छ । घरको चुलोचौकामा सीमित हुने महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको हो ।

युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीनरुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योग समेत स्थापना गर्ने सोच बनाएका छौँ अध्यक्ष पुनले भने ।

स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए । गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनले आशा व्यक्त गरे ।

हाल रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००