१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संस्थामा डाक्टर नहुँदा विरामीलाई समस्या



५ चैत, जाजरकोट ।
साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा सञ्जय यादव काममा नफर्केपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।

अस्पतालमा डाक्टर नभेट्दा उपचार नपाएरै फर्केको स्थानीय हरिबहादुर खत्रीले बताए  । अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनिया लगायत रोगका बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य सहायक तप्तबहादुर चनाराले बताए । डाक्टर नहुँदा दर्जनौँ बिरामी उपचार नपाई फर्कने गरेको उनको भनाइ छ ।

“प्लास्टर, सुत्केरी, भिडियो एक्सरे लगायत सेवा बन्द भएको छ,” उनले भने, “आइतबार मात्र ४५ बिरामीको सामान्य जाँच मात्र गरियो ।” डाक्टर नआउँदा अस्पतालमा भर्ना भएका पाँच जना बिरामीको उपचार गर्न कठिन भएको उनको भनाइ छ ।

डा यादव प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले धम्काएको बहानामा अस्पताल आउनै छाडेको बताइएको छ । प्रजिअलाई कारबाही नभएसम्म कार्यस्थलमा नफर्कने यादवले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले गत बुधबार डा यादवलाई बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा शव परीक्षणका लागि खटाउँदा उनले अटेरी गरेका थिए ।

जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले कार्यबोझका कारण नभई व्यक्तिगत घमण्डका कारण यादवले आदेशको उल्लंघन गरेको बताए  ।

यस्तै जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटमा पनि चिकित्सक नहुँदा त्यस क्षेत्रका बिरामी पनि उपचारबाट वञ्चित छन् । ती संस्थामा कार्यरत मेडिकल अधिकृत एमडीको परीक्षा दिन काठमाडौं गएपछि बिरामी उपचारबाट वञ्चित भएका हुन् ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००