१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या



दीपेन्द्र शर्मा
४ चैत, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या भएको हो ।

राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था ९झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था०ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ ।

वीरेन्द्रनगरवासीले खानेपानीको अभाव हुँदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुंगेधारामै निर्भर हुनुपरेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाममा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । सुर्खेतमा पानी अभाव हुन नदिन भेरीको पानी तानेर ल्याउनका लागि विस्तृत अध्ययन समेत पूरा गरिसकिएको छ । पानीको समस्या समाधान गर्न खानेपानीको नयाँ स्रोत थपी नयाँ धारा जडानका लागि आवेदन मागिएकामा पाँच हजारभन्दा बढी फाराम वितरण भएको छ ।

उनका अनुसार यही चैत ७ गतेसम्म धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाउनुपर्नेछ । अहिले आवेदन लिएर आउँदो असारदेखि मात्रै उपभोक्तालाई धारा जडानको काम शुरु गरिने आयोजनाको तयारी छ । आवेदन धेरै परे पनि प्राविधिक हिसाबले दुई हजारभन्दा बढी धारा वितरण गर्नसक्ने अवस्था छैन ।

अघिल्लो वर्ष उपभोक्ताले ९६ घण्टासम्म पानीको पालो कुर्नुपरे पनि यस पटक त्यस्तो अवस्था नआउने देवकोटाले बताए । “यस वर्ष खडेरी नै परेमा पनि बढीमा ३६ घण्टासम्म पानीको पालो आउने छ,” उनले भने, “सबै काम गतिमा गरे अबको दुई वर्षभित्रमा कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याइने छ ।”

भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उनको तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ ।

प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हुँदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । यही अवस्थामा सुर्खेतमा अहिले २७ लाख लिटर पानी प्रतिदिन नपुग छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अब दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी संस्था सुर्खेतले जनाएको छ ।

उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ । दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको देवकोटाले बताए । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००