१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल सुधारका लागी काठमाडौं महानगरपालिकाको ३० बुँदे योजना



काठमाडौं महानगरपालिकाले तत्काल सुधारका ३० बुँदे योजना सार्वजनिक गरेको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रममा योजना सार्वजनिक गर्दै महानगरका कार्यकारी अधिकृत इश्वरराज पौडेलले योजना सार्वजनिक गरेका छन् ।

नयाँ स्थानीय तह कार्यान्वयन भएकाे र सक्षम महानगर जनप्रतिनिधीलाइ महानगरपालिका हस्तान्तरण गर्न याेजना ल्याएकाे उनले बताए ।

तस्विर साैजन्यः चन्द्रमणि भट्टराई

यस्ता छन् याेजना

ब्रुमर खरिद– काठमाडौंमा धुलोको समस्या अत्यधिक रहेको र यस समस्याको हल गर्न धुलो तान्ने १० अत्याधुनिक बु्रमर खरिद गर्नेछ । ब्रुमरले सडकका साथै फुटपाथ र पेटीको पनि धुलो सोस्नेछ ।

तत्काल सुनुवाई– नागरिकको गुनासो र समस्याको सुनुवाई गर्न एक महिनाभित्र ३ सदस्यीय टोली गठन गर्नेछ ।

तीन सिफ्टमा सेवाप्रवाह– कार्यकारी अधिकृतसहित सबै कर्मचारीले तीन सिफ्टमा काम गर्नेछ । विहान ७ बजेदेखि ११, दिउँसो, १२ देखि ५ र ६ देखि १० बजेसम्म काम गर्ने घोषणा गरेको छ । कार्यालय समयबाहेक अरू बेला अधिकतम् फिल्डमा खटिनेछ । एक महिनाभित्र यो प्रक्रियाको थालनी हुनेछ ।

नमुना वडा– कम्तिमा ४ वटा वडालाई नमुना सेवा प्रवाहको केन्द्रका रुपमा ‘सेन्टर अफ एक्सिलेस’ बनाइनेछ । यी कार्यालयहरूलाई नागरिक र प्रविधिमैत्री बनाइनेछ । साथै सहरी क्लिनिकहरूलाई नमुनाको रुपमा विकास गराउनेछ । महानगरसँग रहेका सरसफाई मजदुरलाई भित्री सडक सफाईका लागी खटाउनेछ ।

काठमाडौं क्लिनर– सरसफाई मजदुरलाई काठमाडौं क्लिनरका रुपमा खटाउने योजना छ । मजदुरलाई हाफ ज्याकेट र टोपी बितरण गरि औपचारिक रुपमा खटाउनेछ ।

विकास दुत नियुक्त– राष्ट्रिय गानका सर्जक प्रदिपकुमार राई ‘व्यकुल माइला’ लाई काठमाडौं महानगरपालिकाको विकास दुत नियुक्त गरेको छ । उनी नागरिक सचेतनाको काममा अग्रसर हुनेछन् ।

ठूला रुख रोप्ने– नदी किनारमा ठूला रुख रोप्न ६ महिनाभित्र ५ वटा ‘ट्री ट्रन्सप्लानर’ खरिद गर्ने योजना छ ।

सुर्योदयअघि नै फोहोर उठाउने– बञ्चरे डाँडा र सिसडोलमा रहेको ल्यान्डफिल्ड साइटलाई व्यस्थित गरि विहान घाम उदाउनुअघि नै फोहोर उठाउने योजना बनाएको छ ।

महानगरको ठेकेदारको सुचिकरण– काठमाडौं महानगरपालिकाभित्र घर तथा भवन बनाउने ठेकेदारहरूलाई सुचिकृत गरेर भवन निर्माणसम्बन्धि तालिम दिनेछ ।

पर्यटन बस सञ्चालन गर्ने– महानगरले व्यवसायीहरूसँग सहकार्य गरि सार्वजनिक, नीजि, साझेदारी (पीपीपी) मोडलमा पर्यटक बस सञ्चालन गर्नेछ ।

सहरी यातायातमा सरलता– ध्वनी प्रदुशन, ट्राफिक जामलगायतका समस्या हल गर्न सरोकारवालाहरूसँग समन्वय गरेर ठोस योजना ल्याउनेछ । साथै पार्किङ व्यवस्थापन र वान वे बाटोहरू पहिचान गर्नेछ ।

उज्यालो काठमाडौं– महानगरभित्रका घरहरूको छतबाट बत्ति जडान गर्ने र अग्रभागलाई उज्यालो बनाउने योजना छ । एउटै गल्ली वा सडकमा बनेका घरहरूमा एउटै रङ रोगन लाउन प्रोत्सहित गर्नेछ । साथै घरको अग्रभागमा रङ रोगन लाउन पनि प्रोत्साहित गर्नेछ ।

कर अभियान– कर संकलनलाई बढाउन करदाता फारम भर्ने अभियान सुरू हुनेछ । यातायात कार्यालयहरूमा रहेका राजश्व काउन्टरहरूको पुनर्संरचना गर्नेछ । करको दायरा बढाउनुका साथै ठूला करदातालाई बिषेश व्यवस्था गर्नेछ ।

निर्माण सामाग्री थुपार्न नदिने– सडकमा जथाभावी निर्माण सामाग्री थुपारे जफत गर्नेछ । यसका लागी डोजर, लोडर र नगरप्रहरीको मोवाइल भ्यान परिचालन गर्नेछ ।

यसबाहेक महानगरले पुरातात्विक महत्वका सम्पदताको जर्गेना गर्ने, सहरी शौचालयको निर्माण गर्ने, बालाजु बाइसधाराको उद्यानको स्तरोन्नति गर्नेलगायतका योजनाहरू अघि सारेको छ ।

यसैगरि तीनकुनेको खाली जग्गालाई व्यवस्थित गर्ने, भवन निर्माणमा बेचौलियालाई हटाउने योजना अघि सारेको छ कार्यक्रममा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले योजना कार्यान्वयनमा जोड दिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार ००:००