१ चैत, मंगलबारे– इलाम ।
शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले दुई करोड संकलन गरेको छ ।
एशियाली विकास बैंकको सहयोगमा ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो ।
खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाउन थालिएको छ । प्रत्येक मिटरबाट १५ हजारका दरले रकम संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए ।
८५ करोडको पाँच प्रतिशत स्थानीयवासीबाट साथै नगरपालिकाको नगर विकास कोषमार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
उपभोक्ता समितिले चार करोडभन्दा माथि रकम संकलन गर्नुपर्ने हुन्छ । बुधबारसम्ममा दुई करोड रकम संकलन भएको उनले जानकारी दिए । चाँडो रकम संकलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्ने अध्यक्ष थापाले बताए ।
योजना सम्झौता भएको दुई वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको उपभोक्ता समितिका सचिव तिलक ठकुरीले बताए । खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीन वटा मुहानबाट पानी आपूर्ति गरिने छ ।
हाल पानी अभावका कारण इलाम बजारका बासिन्दा नुहाउन र कपडा धुन धारा वा खोलामा जानुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुन समेत उपभोक्ता सचेत हुनुपर्ने सचिव ठकुरीको भनाइ छ ।
रासस




प्रतिक्रिया