३० फागुन, कञ्चनपुर ।
बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा ५ करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ ।
बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश ठकुराठीले बताए ।
९० लाखको लागतमा ट्यांकी निर्माण गरिएको हो । आयोजना निर्माणस्थलमा पर्खाल निर्माण गर्ने र चौकीदार बस्ने भवनसमेत निर्माण गरिएको छ । गहुँबाली भित्र्याएपछि पाइप लाइन राखिने ठकुराठीले बताए ।
स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउन एक हजार धारा जडान गरिने छन् । आयोजना निर्माण भएपछि लालपुर, सुन्दरपुर र नयाँ गाउँका एक हजार ५०० परिवार लाभान्वित हुने बताइएको छ ।
खानेपानी आयोजना सम्पन्न
इलामः फाकफोक ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको काम सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिका–२ स्थित कोल्बोटेमा २०७३ साल असारदेखि शुरु भएको उक्त खानेपानी आयोजनाबाट यहाँका १११ घरधुरी लाभान्वित भएका छन् ।
आयोजनाले राष्ट्रिय मावि कोल्बोटे र शिवालय मन्दिरमा एक एक वटा सार्वजनिक धारासमेत निर्माण गरेको छ । एक घर एक धाराको अवधारणाअनुसार निर्माण गरिएको आयोजनामा मिटरसमेत जडान गरिएको छ ।
फनबोर्डको आर्थिक तथा सुनगाभा विकास संस्था इलामको प्राविधिक सहयोगमा सम्पन्न उक्त आयोजना ६८ लाखको लागतमा निर्माण भएको हो । आयोजनाको निर्माणले यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको स्थानीयवासी रवीन राईले बताए ।
रासस




प्रतिक्रिया