१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असन्तुष्ट दलहरूले स्थानीय तहको चुनावमा भाग लिनु पर्छः रेग्मी



स्थानीय खबर संवाददाता, काठमाडौं ।

तत्कालिन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित र पहिचानवादी दलहरूलाई स्थानीय चुनावमा भाग लिन आग्रह गरेका छन् ।

“असन्तुष्ट दलहरूले यो चुनावलाई नजरअन्दाज गर्न हुँदैन । जनताले आफ्नो प्रतिनिधी आफैंले छान्ने र स्वशासनको अभ्यास गर्ने चुनाव हो,” उनले भने, “अरूका लागी होइन, आफ्नै लागी गर्न लागेको चुनावको बिरोध गर्दा जनतालाई के जवाफ दिनुहुन्छ ? त्यसैले असन्तुष्ट पक्षलाई गम्भीर हुन आग्रह गर्छु ।”

‘प्रान्त र केन्द्रको मुख ताक्नु पर्दैन’

रेग्मीले विकास र समृद्धिका लागी अब नागरिकले प्रान्त र केन्द्रको मुख ताक्नु नपर्ने बताएका छन् । गाविस राष्ट्रिय महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका र नगरपालिका अधिकारसम्पन्न भएकाले नागरिकले आफूलाई आफैंले शासन गर्ने मौका आएको बताए ।

“स्थानीय तह लोकतन्त्र र कानुनी शासनको पहिलो पाइला हो । नेपाललाई नवनिर्माणको दिशामा लैजानु पर्छ भने स्थानीय तहलाई महत्व दिनुपर्छ,” उनले भने, “नागरिकको घरदैलोमै शासन प्रशासनका इकाईहरू,सेवाप्रदायक निकायहरू, शान्ति सुरक्षा र नियमनकारी काम पनि स्थानीय तहले नै गर्छन् ।”

न्याय, कर प्रणाली, सेवाप्रवाहको व्यवस्थापन गर्ने निकायहरू गाउँ र नगरतहमै पुगेका कारण केन्द्रीकृत शासनको अन्त्य भएर बिकेन्द्रीत शासनको सुरूवात भएको उनले बताए ।

नेपालको संविधानको कार्यान्वयनको प्रारम्भिक चरण स्थानीय तहको निर्वाचन भएको पनि उनले बताए । ‘निर्वाचन हुन्छ कि हुन्न ?’ भन्ने अहिलेको आशंकालाई हट्ने गरि प्रतिवद्धता जनाउन उनले दलहरूलाई आग्रह गरे ।

निर्वाचन आयोगलाई पनि धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गराउँछु भनेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरे । “मुलुक निर्वाचनको दिशामा गइसको यो बेला चुनाव हुन्छ कि हुँदैन भनेर आशंका गर्नु नै गलत छ,” उनले भने, “राजनीतिक दल, निर्वाचन आयोग र जिम्मेवार निकायले चुनाव हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ ।”

स्थानीय निर्वाचनका बारे नकरात्मक टिप्पणी नर्गन पनि आग्रह गरे । असन्तुष्टी वा नकरात्मक टिप्पणी आन्तरिक तयारीका क्रममा राख्नु पर्ने बताए । काम थालिसके पछि टिप्पणी नर्गन आग्रह गरे ।

स्थानीय तहसहित प्रान्त र संघको पनि चुनाव तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिए । तीन वटै तहको चुनाव भएपछि मात्रै संविधानले मूर्त रुप लिने उनले बताए ।

कार्यक्रममा स्थानीय तह पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले स्थानीय तह अधिकारसम्पन्न भएको र यसको प्रभावकारी कार्यान्वयनका लागी सबै पक्ष गम्भीर हुनु पर्ने बताए । स्थानीय तह कार्यान्वयनका लागी स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनु पर्ने पनि बताए ।

यसैगरि आयोगका पूर्वसदस्य डा. श्यामकृष्ण भूर्तेलले नागरिकलाई समृद्धिको सपना बेचेर मात्रै राजनीति नचल्ने बताए । “हिजो लोकतन्त्रले सबैकुरा पुग्छ भन्यौं, पुगेन । संघीयता भन्यौं, त्यसले मात्रै पनि पुगेन,” भूर्तेलले भने, “अधिकारसम्पन्न स्थानीय तह भन्यौं, संविधानले त्यसको पनि व्यवस्था ग¥यो । त्यत्तिले मात्रै पुगेन, अब चुनाव गर्दैछौं ।”

स्थानीय तहको कार्यान्वयन गर्न कम्तिमा ५ बर्ष लाग्ने भूर्तेलको निष्कर्ष छ । पहिलो २ बर्ष संरचना खडा गर्न, सेवाप्रवाहलाई व्यवस्थित गर्नै लाग्ने, तेस्रो बर्ष बिस्तारै संगठनको स्वरुप तयार हुने र चौथो वर्ष अर्को स्थानीय चुनावको तयारी गर्नुपर्ने उनले बताए । अर्को स्थानीय तहको चुनाव भएपछि मात्रै स्थानीय तह पूर्ण रुपमा कार्यान्वयन हुने उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७३, सोमबार ००:००