१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिका मातहत आए २३ स्वास्थ्य संस्था



२८ फागुन, चितवन ।
भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन् ।

भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकामा वडा नं १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट १० कर्मचारी र करारमा कार्यरत चार जना चिकित्सक रहेका छन् । यसैगरी १३ स्वास्थ्यचौकीबाट ८६, आठ नगर स्वास्थ्य केन्द्रबाट २४ र सामुदायिक स्वास्थ्य इकाई कविलासका तीन जना कर्मचारी महानगर मातहत आएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पत्ति र कर्मचारी विवरण सहितको अलग अलग फाइल एकमुष्ट रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे । कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताइन् ।

भरतपुर महानगरका २९ मध्ये नौ वटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भए पनि राम्रो कामको शुरुआत भएको बताइन् । उनले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडा जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताइन् ।

स्थानीय तहअन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडाध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ । अन्य पाँच सदस्यमध्ये एक महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले अब महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताए । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अब वडा–वडामा समन्वय र अनुगमन गरिने बताए ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००