२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त



२७ फागुन, चितवन ।
भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ ।

सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । पञ्चवर्षीय योजना अन्तर्गत काम गर्नका लागि निर्धारण गरिएको बजेट निकासा नहुँदा समस्या भएको हो ।

कार्यालयका प्रमुख खेमबहादुर पाठकका अनुसार आव २०७१÷७२ मा ८४ करोड ८५ लाखको योजना स्वीकृत भएको थियो । सो पश्चात् समयमा बजेट निकासा नहुँदा पुनः १ अर्ब ४७ करोडको लागत इस्टिमेट गरी विभागमा पठाइएको छ ।

आव २०७२÷७३ मा चार करोड, आव २०७३÷७४ मा ८ करोड तथा आव २०७४÷७५ मा ६ करोड ५० लाख मात्रै बजेट प्राप्त भएको पाठकले बताए । निर्धारित समयमा काम सक्नका लागि कम्तीमा एक आर्थिक वर्षमा २० करोड हाराहारी बजेट निकासा हुनुपर्नेमा त्यसो हुननसक्दा मूल्यवृद्धिका कारण आयोजनाको लागत निकै बढेको उनले बताए ।

लागत बढेसंगै समयमै काम सम्पन्न गर्न एक आर्थिक वर्षमा कम्तीमा ३५ करोड आवश्यक पर्ने देखिएको पाठकले बताए । लागत इस्टिमेट गरिएको बजेटमध्ये ६० करोड चारवटा पम्प खरिदका लागि मात्रै खर्च गर्ने योजना रहेको छ । पम्प स्थापना हुँदा २०४० सालमा जडान गरिएका चारवटै पम्प जीर्ण अवस्थामा छन् । हाल रहेका दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने रहेको छ ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सबै पम्प घिटिघिटी अवस्थामा सञ्चालनमा रहेकाले परिवर्तन गर्नुको विकल्प नरहेको बताउछन् । मर्मतका लागि मात्रै वार्षिक ७० लाखभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ । नारायणी लिफ्ट र खगेरी सिँचाइका मुख्य नहर पक्की बनाउन बजेट प्रस्ताव गरिएको हो ।

हालसम्म ४ दशमलव ५ किलोमिटर नहर पक्की बनाउने काम मात्रै भएको छ । रानाभाटका अनुसार नहरमा स्याल, गोहोरा जस्ता जनावरले प्वाल पार्ने, त्यही प्वालमा पानी पसेपछि ठूलो प्वाल परेर नहर भत्किएर जनधनको क्षति बनाउनसक्ने, मानिसले अतिक्रमण गर्नेलगायत समस्याका कारण नहर पक्की बनाउनुपर्ने अवस्था छ ।

कार्यालयका सूचना अधिकारी भरतबहादुर थापाका अनुसार नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । पछिल्लो समय नहर अतिक्रमणका कारण तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदैआएको छ । वृहत् योजना अन्तर्गत काम हुन लागेको खगेरी नहरले तीन हजार ९०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणी लिफ्टले ३७ हजार ४४ घरधुरी तथा खगेरी सिँचाइबाट १६ हजार घरधुरी लाभान्वित छन् ।

नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १० किलोमिटर लामो छ । सी वान एल नहरको १५ किलोमिटर क्षेत्र पूरै अतिक्रमणमा परेर बन्द छ । अतिक्रमण भएका क्षेत्रमा सिँचाइ गर्न २५ वटा डिप बोरिङ प्रस्ताव गरिएको छ । खगेरीको मूल नहर २५ किलोमिटर लामो छ ।
रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार ००:००