६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका ४ वटा स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरण गरेनन्



२४ फागुन, बैतडी ।
चालु आवको ८ महिना बित्नलाग्दा समेत जिल्लाका ४ वटा स्थानीय तहले अझै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । जिल्लाको मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गरेका छैनन् । सामाजिक सुरक्षाभत्ता नपाएको भन्दै नागरिक निराश भएका छन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई दुःख लागेको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरीले बताए । “सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ,” उनले भने, “क वर्गको शारीरिक अपांगता भएको व्यक्ति हुँ, मैले आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।”

यस्तै सुर्नया गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेको छैन । अर्थमन्त्रालयले सामाजिक सुरक्षाभत्ताका लागि आवश्यक रकम निकासा नगर्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिए ।

यस्तै मेलौली नगरपालिकाले पनि बजेट निकासा नहुँदा विकास बजेटबाट तत्कालका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । शिवनाथ गाउँपालिकाले पनि चालु आवको ८ महिनासम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेको जनाएको छ ।

सामाजिक सुरक्षाभत्ताका बारेमा व्यापक गुनासो आएकाले विकास बजेटबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने विकास बजेटबाट पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन् ।

नागरिकको व्यापक जनगुनासोपश्चात् सामाजिक सुरक्षाभत्ता वितरण गर्न बाँकी रहेका स्थानीय तहले विकास बजेटबाट वितरण गर्ने तयारी थालेका छन् ।
रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार ००:००