२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकामा बैंकिङ सेवाको अभाव



२२ फागुन, भक्तपुर ।
चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ सेवाको अभाव रहेको छ । नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति लिए पनि काठमाडौं सँग जोडिएको चाँगुनारायण नगरपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् ।

चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोल लगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दैआएका छन् ।

“सहकारीबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ,” ताथलीका मोहनकुमार छुँकाले भने । सरकारले १० लाखभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि समस्या भएको उनको भनाइ छ ।

खाता खोल्न र खातामा भएको रकम झिक्न एक दिनको समय खेर जानेगरी कमलविनायक र सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको नगरकोटका धनबहादुर लामा बताउछन् । धेरै रकम लिएर हिँड्नु पर्दा लुटपाटको डर हुने उनले बताए ।

चाँगुनारायण नगरपालिकामा नगरकोट र चाँगुनारायण जस्ता पर्यटकीय क्षेत्र छन् । यहाँ अस्पताल र कलेजसमेत छन् । सम्पत्ति शुद्धीकरण आयोगले पनि १० लाखदेखि माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

चाँगुनारायण नगरपालिकाको आर्थिक कारोवार माछापुच्छ्रे, नेपाल बैंक र कैलाश विकास बैंकमार्फत भइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकामा बैंक सेवा ल्याउनका लागि माछापुच्छ्रे, प्रभु, सानिमा, एनएनबी, नेपाल बैंकलगायत १० वटा बैंकमा पत्राचार गरी पटक पटक छलफल गरिएको उनको भनाइ छ । जिल्लामा रहेका बैंक सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रित छन् ।
रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलबार ००:००