कल्पना पौडेल
१५ फागुन, ठाकुरद्वारा– बर्दिया ।
स्थानीय पालिकामा स्वास्थ्यका खटिएका स्वास्थ्य संयोजकले कार्यक्रम सञ्चालनका लागि पर्याप्त जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बर्दियाको ठाकुराद्वारमा मंगलवार बाट शुरु भएको बाँकेका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष सहितको संयुक्त समीक्षा गोष्ठीमा स्वास्थ्य संयोजकहरुले यस्तो आग्रह गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य संयोजक केशवराज गौतमले जनशक्तिका भौतिक तथा प्राविधिक उपकरणको अभाव भएको बताए । कोहलपुर नगरपालिकाका स्वास्थ्य संयोजक धन रेग्मीले अधिकांश बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मी व्यवस्था गरिनुपर्ने, आमा सुरक्षा कार्यक्रमका लागि छुट्याएको बजेटबाट १ रुपैयाँ खर्च गर्न नसकिएको भन्दै कामका लागि प्रमुख, उपप्रमुखबाट अवरोध नभए पनि जनशक्ति अभाव भएको उनले बताए ।
जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङले एक–दुई जनाले सबै कार्यक्रम गर्न समस्या भएको बताए । उनले भने, “धेरै कार्यक्रम छन् तर कर्मचारी हामी एक वा दुई जनाले मात्र काम गर्न निकै समस्या भएको छ ।” उनले स्वास्थ्यका कतिपय कार्यक्रममा आपसमा समन्वय र बुझाइको कमी महशुस भएको अनुभव सुनाए ।
खजुरा गाउँपालिकाका स्वास्थ्य संयोजक पूर्णबहादुर खड्काले गाउँपालिकाले स्वास्थ्य कार्यक्रमका लागि सकारात्मक बजेट विनियोजन भए पनि पर्याप्त प्राविधिकहरु नहुँदा समस्या भएको बताए । समयमै औषधि खरिद भए पनि त्यसको भण्डारण गर्ने स्टोरकिपर, तथ्यांक अधिकृतको अभाव भएको उनको भनाइ छ ।
वैजनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक शोभा अधिकारीले स्वास्थ्यका लागि आवश्यक बजेट पनि विनियोजन नहुँदा तलब सुविधाका लागि पनि समस्या देखिन थालेको बताइन् । राप्तीसोनारी गाउँपालिका स्वास्थ्य संयोजकले नेपालगन्ज शहरबाट टाढाको गाउँपालिका भएकाले बैंकिङ कारोबार गर्न, इमेल–इन्टरनेटको सुविधा नहुँदा अनलाइनमा जान नसकिएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले चालु आवमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल गर्न आयोजना गरिएको समीक्षामा पालिकामा खटिएका स्वास्थ्या संयोजकले स्वास्थ्यका कार्यक्रमबारे स्थानीय प्रतिनिधिलाई बुझाउन समस्या भएको बताएका हुन् । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले आमा सुरक्षा, न्यायो झोला खरिदका लागि रकम अभाव भएकाले समस्या भएको बताए ।
बाँकेका अधिकांश गाउँपालिकाले औषधि, खोप खरिद भए पनि भण्डारण गर्न समस्या भएको, कतिपय पालिकामा न्यायो झोला खरिदमा बजेट अभाव भएको, भौतिक संरचना नभएको र जिल्लाका खोप अधिकृत प्रदेशमा जाँदा जिल्लामा खोप अधिकृतका अभाव भइरहेको समीक्षामा स्वास्थ्य संयोजकले गुनासो गरेका थिए ।
जिल्ला जनस्वास्थ्यका प्रतिनिधि, उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित छ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाहरुमा खटिएका स्वास्थ्य संयोजक, प्रमुख प्रशासकीय अधिकृत, लेखाप्रमुख र स्वास्थ्यमा काम गर्ने साझेदार संस्थाहरुका प्रतिनिधिहरुको समीक्षा बैठकमा उपस्थिती रहेको छ ।
भोलिसम्म चल्ने समीक्षा बैठकले अगामी आव २०७५÷७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालु आवको स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै अगामी असार मसान्तसम्मको बाँकी कार्यक्रमको कार्ययोजना तयार पारिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।
उनले भने, “हामीले स्थानीय पालिकाका जनप्रतिनिधिलाई स्वास्थ्यका महत्वपूर्ण कार्यक्रम, उद्देश्य र तिनको अपेक्षित प्रतिफलबारे जानकारी गराई नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन तथा नियमन गर्न सहयोग पुगोस् भनेर संयुक्त समीक्षा बैठक राखेका हौँ ।”
स्थानीय तहको अधिकारभित्र परेका स्वास्थ्य कार्यक्रमका अधिकार, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु स्याहार कार्यक्रम, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम र एकीकृत बालरोग व्यवस्थापनलगायत महत्वपूर्ण कार्यक्रमबारे पनि छलफल हुनेछ ।
रासस


प्रतिक्रिया