स्थानीय खबर संवाददाता
काठमाडौं, ११ फागुन
गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय अधिवेशन चैतमा हुने भएको छ । महासंघका अनुसार चैतको १९, २० र २१ गते राजधानीमा अधिवेशन हुनेछ ।
महासंघका कार्यकारी निर्देशक विमल पोखरेलका अनुसार अधिवेशनले २९ सदस्यीय राष्ट्रिय समिति चयन गर्नेछ । गत ८ र ९ गते भक्तपुरमा महासंघले आयोजना गरेको भेलाले उक्त निर्णय गरेको हो । उक्त भेलामा ७ वटै प्रदेशबाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिनिधीहरू सम्मिलित थिए ।
भेलाले साविकको गाउँ विकास समिति राष्ट्रिय महासंघको नाम परिर्वतन गरेर गाउँपालिका राष्ट्रिय महासंघ बनाएको छ । महासंघको विधानअनुसार मुलुकभर सबैभन्दा धेरै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको दलबाट अध्यक्ष चुनिनेछ । यसैगरि दोस्रो भएको दलबाट महासचिव र तेस्रो हने दलबाट कोषाध्यक्ष चुनिनेछ ।
स्थानीय निर्वाचनको परिणामअनुसार सबैभन्दा धेरै अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले) ले जितेको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्र छ । यस हिसाबले एमालेले अध्यक्ष, कांग्रेसले महासचिव र माओवादीले कोषाध्यक्ष पाउने सम्भावना छ ।
एमाले र माओवादीबीच पार्टी एकिकरण भइहालेमा के हुन्छ भन्ने जिज्ञाशामा पोखरेल भन्छन्, “निर्वाचन आयोगले एउटै दल भएको घोषणा नगरेसम्म छुट्टाछुट्टै दलका रुपमा गणना हुन्छ । आयोगले एउटै दल भएको घोषणा गर्यो भने तेस्रो ठूलो दल संघीय समाजवादी फोरम हुनेछ ।”
पोखरेलका अनुसार एमालेबाट १ सय ७३ अध्यक्ष र १ सय ९६ उपाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट १ सय ६० अध्यक्ष र १ सय ३९ उपाध्यक्ष निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ७१ अध्यक्ष र ६६ उपाध्यक्ष निर्वाचित भएका छन् ।
यसैगरि संघीय समाजवादी फोरमबाट २३ अध्यक्ष र २६ उपाध्यक्ष निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टीबाट ११ अध्यक्ष र १३ उपाध्यक्ष निर्वाचित भएका छन् । यसैगरि स्वतन्त्रबाट ६ अध्यक्ष र ५ उपाध्यक्ष निर्वाचित भएका छन् ।
महासंघले यसअघि नै प्रदेशस्तरीय संगठनहरू गठन गरिसकेकाे छ । महासंघ देशभरकाे गाउँपालिकाहरूकाे छाता संगठन हाे । महासंघले गाउँपालिकाहरूकाे संवैधानिक तथा कानुनीलगायतकाे अधिकारका लागी पैरवी गरिररहेकाे छ । साविककाे गाविस महासंघले पनि देशभरका गाविसहरूकाे अधिकारका लागी पैरवी गर्दै अाएकाे थियाे । महासंघ २०५२ सालमा गठन भएकाे थियाे ।
प्रतिक्रिया