१० फागुन, नुवाकोट ।
यहाँको मुख्य बजार क्षेत्रमा जडान गरिएका क्लोजसर्किट टेलिभिजन (सिसीटिभी) क्यामरा प्रयोगविहीन भएका छन् । नुवाकोट उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य बजार क्षेत्रमा जडान भएर प्रहरी कार्यालय मार्फत निगरानी गरिँदै आएको २५ थान क्यामरा सबै प्रयोगविहीन भएका हुन् ।
संघको पहलमा ३५ लाखमा जडान गरिएका क्यामरा मर्मतका लागि रकम उपलब्ध गराउन सम्बन्धित पक्षले बेवास्ता गरेपछि एक महिनादेखि थन्किएका छन् । एक वर्षअघि संघले तत्कालीन जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय सस्थासँगको आर्थिक सहयोगमा क्यामरा जडान गरेको थियो ।
जसमा ३५ लाख खर्च भएकामा ८ लाख भुक्तानी हुन बाँकी रहेको संघका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिइन् । उनका अनुसार अपेक्षाअनुसार नगद सहयोग संकलन नहुँदा क्यामरा जडान गर्ने कम्पनीको भुक्तानी रोकिएको हो ।
जिल्लाको बजार क्षेत्रमा पर्ने गंगटेदेखि बट्टार, विदुर, ढुंगे हुँदै त्रिशूली सम्मको ५ किलोमिटर मुख्य सडक क्षेत्रमा जडान भएका क्यामराले काम नगरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
“बजार क्षेत्रमा शान्ति सुरक्षा तथा सडक सुरक्षालाई मध्यनजर गरी जडान भएका क्यामरा अहिले कुनै पनि चलेका छैनन्,” प्रहरी उपरीक्षक कुँवरले भने, “कुनै दुर्घटना भएमा सर्वसाधारणमा क्यामराबाट निगरानी हुन्छ भन्ने विश्वास भए पनि त्यो सेवा अहिले ठप्प हुँदा कठिनाइ भएको छ ।”
क्यामरा जडानले जिल्ला सदरमुकाम सहित बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन, चोरी–अपराध निरुपण गर्न, दुर्घटना न्यूनीकरण र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रभावकारी बन्दै आएको थियो ।
प्रहरी कार्यालयमा राखिएको स्क्रिनमार्फत निगरानी गरी क्यामराको सहयोगमा सञ्चालनको एक वर्ष एक दर्जन अपराध तथा सवारी नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन नुवाकोट प्रहरी सफल बनेको थियो ।
रासस




प्रतिक्रिया