६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले र माओवादी केन्द्रबीच एकीकरणका आधारबारे सात बुँदे सहमति



प्रकाश सिलवाल
८ फागुन, काठमाडौं ।
नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक ७ बुँदे आधारहरुमा सहमति भएको छ ।

वाम गठबन्धनमा आवद्ध यी २ पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । सोमबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरिने पनि सहमति गरेको हो ।

यो सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । यही फागुन २ गतेको समितिको बैठकमा मिल्न बाँकी विषयलाई २ दलले सोमबार हस्ताक्षर सहित सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकले गरेको सहमतिमा पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहने तथा सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे उल्लेख गरिएको छैन । कहिलेसम्म पार्टी एकता गर्ने भन्ने पनि किटान गरिएको छैन ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको उक्त एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ ।

सहमतिमा एमालेको “जबज” र केन्द्रको “माओवाद र एक्काइसौँ शताब्दीको जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ ।

उक्ता प्रारम्भिक आधारहरुमा एकता समितिमा रहेका एमालेका अध्यक्ष ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष पामदेव गौतम र ईश्वर पोखरेल तथा केन्द्रका अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

एमाले महासचिव पोखरेर र केन्द्रका नेता श्रेष्ठले सात बुँदे सहमति सार्वजनिक गर्दै पार्टी र सरकारको नेतृत्वका विषयमा थप स्पष्ट पार्न चाहेनन् । उनीहरुले लिखितरुपमा आएका विषयहरुलाई आधिकारिक ठान्न आग्रह गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गत असोज १७ गते २ पार्टीबीच एकता गर्ने घोषणा गरिएको थियो । निर्वाचनमा बहुमत हासिल गरेको यस गठबन्धनको समर्थनमा एमालेका अध्यक्ष ओली यही फागुन ३ गते प्रधानमन्त्रीमा नियक्त भएका छन् ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००