२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाेत्तमा नगरपालिकाकाे कानून राजपत्रमा प्रकाशित



६ फागुन बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई ‘तिलोत्तमा राजपत्र’मा प्रकाशित गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो ।

नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा ९१० बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरेको थियो ।

नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट गत माघ २७ गते प्रमाणीकरण भएकामा त्यसलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयमा आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । नगरसभाबाट पारित भएका ऐन नगर प्रमुखले प्रमाणीकरण गरेपछि प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ ।

तिलोत्तमा राजपत्रमा ‘केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन,केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, सहकारी ऐन, शिक्षा नियमावली’ प्रकाशित गरिएको छ ।

यस्तै बजार अनुगमन निर्देशिका, बैठक सञ्चालन कार्यविधि, पदाधिकारीको आचारसंहिता, कार्यसम्पादन नियमावली, नगरसभा सञ्चालन कार्यविधि पनि राजपत्रमा प्रकाशित गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानून निर्माण गरिएको जनाएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारको सूची उल्लेख छ । स्थानीय कानूनका कुनै प्रावधान प्रदेश कानूनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार ००:००