१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव



६ फागुन, नगरकोट । शिक्षकहरूले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिएका छन् ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र प्रविधिका विषयमा स्थानीय पाठ्यक्रममा राख्न सकिने विषयवस्तुबारे प्रस्तुतीकरण दिएका थिए ।

मेघा माविका प्रअ गंगाधर हाडाले भक्तपुरको पर्यटन र वाइजल्याण्ड स्कुलका प्रअ आशकुमार चिकंबञ्जारले स्थानीय खेलबारे धारणा राखेका थिए । नगरभित्रका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रधानअध्यापकबीच छलफल गरी आएका सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

सरोकारवालाहरूसँग छलफलपछि ५ सदस्यीय कार्यदल पनि गठन गरिएको छ । नयाँ शैक्षिक सत्रदेखि नै नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने बताइएको छ ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले सात शैक्षिक संस्था तथा तीन जनस्वास्थ्य केन्द्र सञ्चालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको जानकारी दिइ । साथै सबैको सामुहिक प्रयास र प्रतिबद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाका लागि भक्तपुर उदाहरणीय बन्ने उनले दाबी गरे ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाबाट गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकानुसार आवश्यकता पहिचान, नीतिगत निर्णय र पाठ्यक्रम निर्माण चरण पूरा गरिने बताए । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार ००:००