१८ माघ, बुटवल ।
स्थानीय तहलाई प्राप्त अधिकार प्रभावकारी तवरले कार्यान्वयनमा ल्याउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न कानून निर्माण गरेको छ ।
स्थानीय तहमा लामो समयदेखि कानूनी पूर्वाधारका अभावमा अपेक्षाकृत रुपमा सक्रिय भएर अगाडि बढ्न नसकेको अनुभवका आधारमा संविधानले व्यवस्था गरेबमोजिम नगरपालिकाको यही माघ ८ देखि १४ गतेसम्म चलेको नगरसभाले ९ कानून निर्माण गरेको हो ।
नगरसभामा सदस्यबाट व्यक्त भएका विचार, निजहरूको कार्यानुभूति, स्थलगत अनुगमन, अन्य निकायद्वारा निर्माण भई कार्यान्वयनमा आएका कानूनको व्यावहारिक अनुभव समेतलाई आधार मानी कानुन निर्माण गरिएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
नगरपालिकाले यसअघि नै विभिन्न ऐन, नियम र कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको थियो । नगरपालिकाले नगरपालिकाका केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन ९कार्यविधि० ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो ९व्यवस्थापन तथा सञ्चालन० कार्यविधि ऐन, तिलोत्तमा नगरपालिकाको सहकारी ऐन, तिलोत्तमा नगरपालिकाका शिक्षा नियमावली, तिलोत्तमा नगरपालिकाको बजार अनुगमन निर्देशिका, र नगर कार्यपालिका ९कार्य विभाजन० नियमावली, २०७४ जारी गरेको छ ।
यसलगत्तै अन्य केही महत्वपूर्ण कानून निर्माणका चरणमा रहेको नगरप्रमुख घिंमिरेले जानकारी दिए । उक्त कानूनका मस्यौदालाई नगर कार्यपालिकाद्वारा विभिन्न मितिमा गठन भएका विभिन्न विषयगत समितिसँग छलफल र अन्तरक्रिया गरी परिमार्जन सहित विधायन समितिमा छलफलका लागि पेश भई दफावार छलफलबाट सर्वसम्मतिले पारित गरिएको बताइएको छ ।
रासस




प्रतिक्रिया