१६ माघ, च्याङ्ग्रेबजार— भोजपुर ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् । जिल्लाको पौवादुङ्गा गाउँपालिकाको वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उनले आफू प्रदेश नं १ को सरकारको नेतृत्वका लागि सक्षम रहेको बताएका हुन् ।
भोजपुर निर्वाचन क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता राईले भने– “प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत भएको छु, सम्भवतः मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।”
सो प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका सचिव एवं पूर्व संस्कृतिमन्त्री भीमप्रसाद आचार्यले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान शुरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दावी गरे ।
मुलुकका सात मध्ये छ वटा प्रदेशमा वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने र अबको पाँच वर्ष जनताले दिएको जनादेश बमोजिम केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर देश विकासको योजनावद्ध अभियान सञ्चालन गरिने पनि उनले बताए ।
विकास निर्माणका काममा स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोगी भई खबरदारी गर्न पनि सांसद् राईले स्थानीय सरकारलाई थप बजेट र कार्यक्रम दिन आगामी प्रदेश सरकार तयार हुने पनि बताए ।
नेकपा माओवादी केन्द्र बाट नवनिर्वाचत प्रतिनिधिसभा सदस्य सुदन किराँतीले प्रदेश नं १ ले राईलाई मुख्यमन्त्रीका रुपमा पाउने आशा व्यक्त गर्दै विकास निर्माणका काममा नयाँ सरकारपछि तिब्रता आउने स्पष्ट पारे ।
स्थिरता र विकासका लागि निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार एमालेसंगको एकता हुने पनि उनले बताए । सो गाउँपालिकाको सोमबारको प्रथम गाउँसभाले खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षा लगायतका कार्यक्रम र चालू पूँजीका लागि कुल २२ करोड २९ लाख ८१ हजारको बजेट पारित गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष किरण राईले जनताको चाहनाअनुसार आफूहरुले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए । गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।
रासस

प्रतिक्रिया