१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा सडक निर्माणको २२ करोड रकम भुक्तानी गर्न बाँकी



 

१३ माघ। चरिकोट । डिभिजन सडक कार्यालय दोलखाले निर्माणलाई रु २२ करोड रकम भुक्तानी गर्न बाँकी छ । डिभिजन सडक कार्यलय दोलखाले विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण भइसकेको सडकको भुक्तानी दिन सकेको छैन । भुक्तानी नभए पछि केही निर्माण व्यवसायीले निर्माणको कामसमेत रोकेका छन् ।

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारीले भुक्तानी दिन नसकिएको स्वीकारे । दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा सडक निर्माण गरिसक्दा पनि रकम भुक्तानी गर्न बाँकी छ । एउटै निर्माण कम्पनीलाई ५० लाखदेखि ४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको तिवारीले बताए ।

निर्माण सम्पन्न गरिसकेका व्यवसायीले भुक्तानी नपाउँदा गुनासो बढ्दै गएको छ । भुक्तानी नपाए पछि व्यवसायीहरूले गत महिना डिभिजनको कार्यलयमा तालाबन्दीसमेत गरेका थिए । बजेट नभएका कारण रकम भुक्तानी दिन नसकेको तिवारीले बताए । आफूले सडक विभागसँग रकम माग गरे पनि अर्थ मन्त्रालयले निकासा नगर्दा भुक्तानी गर्न नसकिएको तिवारीले बताए ।

रकम भुक्तानी दिन नसक्दा व्यवसायीले निमार्ण कार्यमा खटिएका मजदुरलाई पनि भुक्तानी दिन सकेका छैनन् । निर्माण सामग्री खरिद गरेको बिल भुक्तानीसमेत गर्न नसक्दा आगामी सरकारले निकाल्ने ठेक्कापट्टाको कामसमेत गर्न नसक्ने र बाँकी कामसमेत बीचैमा छोड्नु पर्ने अवस्था सिर्जना भएको महालक्ष्मी कन्ष्ट्रक्सन कन्सर्न प्रालिका साइड इञ्चार्ज तेजबहादुर भुजेल बताउँछन् ।

भुजेलका अनुसार ८ करोड लागतमा निर्माण शुरु गरिएको चरिकोट कालीञ्चोक सडकको ८ किलोमिटर र अन्यत्रका काम गरेर आफ्नो कम्पनीले कार्यालयसंग करिब ४ करोड रुपैयाँ लिन बाँकी छ ।

यस वर्षको साउन देखिको रकम भुक्तानी गर्न नसकिएको तिवारीले बताए । पेटी ठेकेदारलाई भुक्तानी गर्न, रड, सिमेन्ट, बालुवा, गिट्टी इकुमेन्टको खर्च, डिजेललगायतको खर्च तिर्न नसक्दा ठेकेदार समस्यामा परेको भुजेलले बताए । कार्यालयले करिब १० वटा निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी छ ।

जिरी शिवालय सडक, चरिकोट दोलखा सडक, सिन्धुपाल्चोकको केही सडकलगायत विभिन्न सडक आयोजनाको रकम भुक्तानी गर्न बाँकी रहेको छ । गौतमले देशैभरिका कार्यालयमा सडक निर्माणको रकम भुक्तानी गर्न नसकिएको र विभागले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको हुँदा चाँडै रकम उपलब्ध हुने दाबी गरे । रासस

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ००:००