१२ माघ रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागी १ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ । सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।
पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पु¥याउने योजना नगरपालिकाले अघि सारेको चौधरीले बताए ।
नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माण गर्न ५९ लाख रुपैयाँ, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि २९ लाख रुपैयाँ, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि १५ लाख रुपैयाँ र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।
खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि रु ३० लाख विनियोजन गरिएको छ । उक्त मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले बताए ।
सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरी बताउँछन् ।
खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । यहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् । पर्यटकलाई जिप सफारी गराएर मात्रै कुमरोजमा गत बर्ष ३० लाख रुपैयाँ आम्दानी भएको थियो । रासस
प्रतिक्रिया