१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना तयार गरिँदै



११ माघ, खोटाङ ।
नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ ।

आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो ।

यही माघ १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमुलक तथ्यांक सकंलन गरिसक्ने समयसिमा तोकिएको छ । माघ १३ गतेदेखि तथ्याङ्क प्रशोधन काम शुरु गरेर माघ १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण (भिजन सेटिङ) गरिने नगर प्रमुख दिपनारायण रिजालले जनाए ।

योजनाको प्राथमिकीकरण पछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको लक्ष्य सहितको विषयगत छलफल गरेर आवधिक विकास योजनाको मस्यौदा तयार गरिने छ ।

आवधिक विकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि आगामी फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ ।

प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगर कार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधिक विकास योजनाको अन्तिम टुंगो लाग्ने प्रमुख रिजालको भनाइ छ । मुलुकका ७५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ ।

भौतिक विकास, शिक्षा, स्वास्थ्य, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर विकास योजना बनाइने नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् ।
रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार ००:००