६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी



भीष्मराज ओझा
१० माघ, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दियो ।

बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ ।

समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरु रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने सुझाव दिए ।

वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले सरकारका आर्थिक विकासका क्रियाकलापमा सहयोग पु¥याउनु यसको कर्तव्य भएको धारणा व्यक्त गर्दै उनले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । मन्त्री कार्कीले भने, “मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ ।”

स्थापनाकालदेखि नै वाणिज्य बैंकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा प्रवाह गरी जनताको अपार विश्वास जितेको प्रसंग उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले विगतका कार्यको समीक्षा गरी वित्तिय क्षेत्रमा अझ प्रतिष्पर्धी हुनु आवश्यक रहेको बताए ।

मन्त्री कार्कीले संविधान मार्फत विभिन्न तहका निर्वाचन सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम हुँदै गएको र द्रुत विकास अबको लक्ष्य भएको बताए ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने धारणा व्यक्त गरे ।

मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका पाँच हजार २६७ शाखा रहेको बताउँदै उनले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराए ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई हजार १६५ कर्मचारीबाट ग्राहकको चाहनाबमोजिम वित्तिय सेवा प्रदान गर्न प्रयत्न गरिरहेको यस बैंकले अपेक्षा गरेअनुसार ग्राहको विश्वास आर्जन गरिरहेको बताए ।

विसं २०७४ पुस मसान्तसम्म कूल निक्षेप एक खर्ब ४९ अर्ब र कूल कर्जा एक खर्ब १० अर्ब पुगेको जानकारी गराउँदै यो वर्ष मात्र बैंकभित्र करिब ५०० नयाँ कर्मचारी भित्र्याइएको र ५७१ कर्मचारी विज्ञापन भई भर्ना प्रक्रियामा रहेको बताए ।

बैंकका ३० लाखभन्दा बढी ग्राहक छन् । बैंकले विसं २०७४ पुससम्म दुई अर्ब ७४ करोड अनुदान सहितको कृषि कर्जा र १७ करोड भूकम्पपीडित कर्जा प्रदान गरिसकेको छ ।

एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा मर्जरको प्रक्रियाअन्तर्गत यही माघ २० गते विशेष साधारणसभा आह्वान गरिएको र चैतबाट एकीकृत कारोबार गर्ने लक्ष्य रहेको छ ।

कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट नरेशराज अर्याल र सर्वोत्कृष्ट बैंक शाखाका रुपमा दाङको नारायणपुर शाखालाई पुरस्कृत गरिएको थियो ।

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डे, राबाबैं कर्मचारी संघका अध्यक्ष गगनसिंह घिमिरे, राबाबैँ कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम निरौलालगायतले बैंकका गतिविधिबारे प्रकाश पार्दै भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
रासस

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ००:००