९ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन



७ माघ, काठमाडौँ ।
रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।

यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिने बताए ।

कामपा प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताए ।

पाटन दरबार क्षेत्र, हनुमानढोका लगायत केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको बताउँदै शाक्यले भने, “रानीपोखरी प्रवेशको लागि केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यावसायिक भन्नु गलत हो ।”

सोही अवसरमा सहभागीले पटक पटक निर्माणको काम थाल्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेप्रति कारबाहीको माग गरे ।

रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो । पहिलेको निर्णयअनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन अध्ययनपछि पोखरीको उत्खनन पनि गरिने बताइएको छ । विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।
रासस

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार ००:००