५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य बीमामा तीन हजार चार सय सदस्य



२२ पुस, बैतडी ।
बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा ३ हजार ४०० बढी सदस्य आबद्ध भएका छन् । सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा बैतडीमा हालसम्म तीन हजार ४२५ जना सदस्य आबद्ध भएका हुन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा ७०१ परिवारका ३ हजार ४२५ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक जनक साउँदले जानकारी दिए ।

स्वास्थ्य बीमाबापत १८ लाख सात हजार ७६५ योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म ९२७ जनाले उपचार सेवा प्राप्त गरेको समितिले जनाएको छ ।

स्वास्थ्य बीमा बिरामी हेरचाहबापत जिल्ला अस्पताल बैतडीले १ लाख ९५ हजार ३६०, पाटन प्राथमिक स्वास्थ्य केन्द्रले ८५ हजार ४३३, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले १८ हजार ६९२, गोकुलेश्वर अस्पताल दार्चुलाले १३ हजार ८०८ र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराले २ लाख बढी दाबी भुक्तानी रकम पाएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएकालाई धनगढी, कोहलपुर, काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

५ जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार २ हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको सेवा पाइने र ५ भन्दा थप सदस्य भएमा जनही १० हजार गरी बढीमा एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

गत वर्ष स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बनेका परिवार नवीकरण म्याद समाप्त हुन लागेकाले नवीकरण गर्न अनुरोध समेत गरिएको छ । नवीकरण नगर्ने सदस्यको स्वतः म्याद समाप्त भई सदस्य रद्द हुने जनाएको छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायत ३२ किसिमका सेवा पाउनेछन् ।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । प्रदेश नं ७ का बैतडी, अछाम र कैलालीसहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

गरिब नागरिकका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भएकाले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ ।
रासस

प्रकाशित मिति : २२ पुस २०७४, शनिबार ००:००