२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा



विनोदसिंह बिष्ट
१३ पुस, बैतडी ।
स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे ‘घरबास’ दोगडाकेदारमा सञ्चालनमा आएको छ ।

दोगडाकेदार गाउँपालिका ६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो रीतिरिवाज, वेषभूषा, रहनसहन र यहाँको स्थानीय खानाका परिकार रहेको होमस्टे सञ्चालक सुशीला मडैले जानकारी दिइन् ।

सुशीला होमस्टे नाम दिएर सञ्चालनमा रहेको उक्त होमस्टेमा डोटेली कला संस्कृति सगुन, फाग, छलिया नृत्यका साथै सुदूरपश्चिमको मुख्य खेल डेउडा आकर्षण रहेका छन् । यहाँको स्थानीय पोशाक घाक्रा, चोली, आङणोका साथै स्थानीय खानाका परिकार माणा, कोदोको रोटी, मकैको रोटी, डुब्का, बटुक लगायतको परिकार रहेका होमस्टे सञ्चालक मडैले जानकारी दिए । उनले भने “यहाँ रहेका मठमन्दिर तथा कोटको पनि अवलोकन गर्न सकिन्छ ।”

ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याएको भएपनि आन्तरिक तथा बाह्य पर्यटकको संख्या भने न्यून रहेको छ । सडक सुविधासमेत नपुग्दा तथा बिजुलीको पनि पर्याप्त सुविधा नहुँदा केही समस्या भएको छ, उनले भनिन् “खाद्यान्न सामग्रीसमेत दुई घण्टाको पैदल हिँडेर बोक्नुपर्ने बाध्यता रहेको छ ।”

आफ्नै घरमा रहेको उक्त होमस्टे विगत एक वर्षदेखि सञ्चालनमा रहेको छ । हाल एउटामात्र घरमा रहेको उक्त होमस्टे पाहुना तथा पर्यटकको चाप बढेपछि विस्तारै बढाउने उनले जानकारी दिइन् ।

होमस्टे सञ्चालनमा रहेकोबारे प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीय तह तथा सम्बन्धित निकायले प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ ।

जिल्ला लघुउद्यमी समूह संघ, बैतडी र अन्य केही संघसंस्थाको सहयोगमा सुशीलाले उक्त होमस्टे एक वर्ष अगाडिदेखि सञ्चालनमा ल्याएकी हुन् । होमस्टेका साथै सुशीलाले तरकारी खेती, बाख्रापालन पनि गरेकी छन् । यसले गर्दा आर्थिक समस्या पनि हटेको उनले बताइन् । होमस्टेका साथै तरकारी खेती र बाख्रापालनले गर्दा मेरो आर्थिक स्थितिमा सुधार आएको छ, उनले भनिन् “घरधन्दा चलाउन कुनै समस्या आएको छैन, सजिलैसंग चलाएकी छु ।”

होमस्टे श्रीमान्को विशेष सहयोगमा सञ्चालनमा गरेको र तीन छोरीलाई समेत पठनपाठनमा सजिलो भएको उनले बताइन् । दोगडाकेदार गाउँपालिका ६ सित्तडमा रहेको होमस्टेबाट बैतडीको दोगडा धाम, चमेलिया नदीलगायत दार्चुलाको अपि हिमाल, राष्ट्रकै सातौँ धाम मालिकार्जुन, बझाङको सैपाल हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

बैतडी जिल्लामै पहिलोपटक सञ्चालनमा आएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो हुने जिल्ला लघुउद्यमी समूह संघ, बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टको भनाइ रहेको छ ।

उक्त होमस्टेले स्थानीय कला, संस्कृति तथा स्थानीय खानाका परिकारले गर्दा पर्यटकलाई लोभ्याउनेछ, उनले भनिन्, “रमाइलो ठाउँमा सञ्चालनमा रहेको उक्त होमस्टेले पर्यटकलाई तान्नेछ ।” होमस्टे सञ्चालनले यस क्षेत्रको पर्यटन विकासका साथसाथै जिल्लाको पहिचान झल्काउने समेत उनले बताइन् ।

दोगडाकेदार गाउँपालिकामा जिल्लाकै पहिलो होमस्टे सञ्चालनमा आउनु खुशीको कुरा भएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

हाम्रो परम्परागत शैली तथा स्थानीय खानाका परिकारको संरक्षणका लागि जिल्लामै पहिले होमस्टे दोगडाकेदार गाउँपालिकामा सञ्चालनमा आउनु राम्रो पक्ष हो, उनले भने “एउटा मात्रै घरमा रहेको उक्त होमस्टेलाई अब पूरै गाउँमा नै होमस्टे सञ्चालनमा ल्याउनुपर्छ ।” दोगडाकेदार गाउँपालिकालाई आर्थिक समृद्धिको गाउँपालिका बनाउन होमस्टेले पनि सहयोग गर्ने उनको भनाइ रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होमस्टे कार्यविधि जारी गरी नेपाल आएका पर्यटकलाई गाउँगाउँमा पु¥याउने नीति लिएपछि पर्यटकीय गाउँमा होमस्टे खुल्न थालेका छन् । होमस्टेले नेपालका विभिन्न ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन र आर्थिक रुपान्तरण गर्न सफल भएका धेरै उदाहरण छन् ।
रासस

प्रकाशित मिति : १३ पुस २०७४, बिहिबार ००:००