१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिला गाउँपालिकाका दुई बस्ती छाउगोठ मुक्त



४ पुस, जुम्ला ।
यहाँको तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् ।

३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र ६१ घरधुरी रहेको ३ नं वडाको जोगीवाडामा छाउगोठ मुक्त घोषणा कार्यक्रम तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले उद्घाटन गरे ।

घोषणा कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले कुसंस्कारले जरा गाडेको छुई प्रथा अन्त्यको घोषणा गर्ने बस्तीका नागरिक, त्यसको पहलकर्ता गाउँपालिका र सहयोगी निकायलाई धन्यवाद ज्ञापन गरे । यो कुप्रथाका कारण सयौँ वर्षदेखि पीडा खेप्दै आएका आमाहरुलाई गाउँपालिकाले सामाजिक न्याय दिएको भन्दै उनले कृतज्ञता प्रकट गरे ।

तिला गाउँपालिकाका अध्यक्ष योगीले ‘सामाजिक संस्कारसहितको समाज परिवर्तन’मा जोड दिएको र छाउ गोठमुक्त समाज निर्माणको मार्ग तयार गरेको बताए । “नागरिकले समाजमा भएका मौलिक संस्कृति, धर्म र प्रथाहरुको जगेर्ना गरोस्, साथै कुप्रथाको पनि अन्त्य गरोस् भनेर ‘सामाजिक संस्कारसहितको समाज परिवर्तन’लाई मूलमन्त्र बनाएका छौँ,” उनले भने ।

सरकारले पाँचवर्ष तोके पनि आफू नेतृत्वको टिमले मध्य तथा सुदूरपश्चिम क्षेत्रका स्थानीय तहमा तिला गाउँपालिकालाई दुई वर्षभित्र पहिलो छाउगोठमुक्त गाउँपालिका बनाउने उनले प्रतिबद्धता जाहेर गरे । यसका लागि तिला गाउँपालिकामा अवस्थित ३४ बस्तीमा नै छुई निगरानी समिति गठन गरी प्रत्येक घरधुरी र महिलामा यो अभियान पु¥याउने योजना रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, जुम्लाका विद्यालय निरीक्षक खडानन्द चौलागार्इंले छुई प्रथाले विकासमा अवरोध पु¥याएको कुरालाई मनन गरी यो स्तरसम्म ल्याई पु¥याउने जोगीवाडा र रावतवाडा गाउँका महिलालाई धन्यवाद दिए । उनले आगामी दिनमा यो कुसंस्कारलाई मान्यता दिनेलाई समेत कारबाही हुने नीति निर्माण गर्न गाउँपालिकालाई सुझाव दिए ।

गाउँ कार्यपालिका सदस्य लालबहादुर सुनारले छुई प्रथाको अन्त्यसंगै जातीय विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए । गाउँपालिकाका महिला सदस्य अम्बिका शाहीले अब घरमै ढुक्क भएर बस्ने सुनौला दिन आएको र यो दिन ल्याउनुमा महिला पुरुषको भूमिका बराबरी रहेको बताइन् । महिला तथा बालबालिका कार्यालय, जुम्लाका प्रतिनिधि सुस्मिता थापाले संस्कारका कारण महिलामाथि उत्पीडनको अन्त्य नभएको प्रतिक्रिया दिइन् ।

सामाजिक अगुवा मुनिनाथ योगीले आफूले देवीदेवता मान्दै आए पनि छुई कुप्रथालाई मान्यता नदिएको बताए । साझेदार संस्था क्याड र सर्वोदय नेपाल, जुम्लाका प्रतिनिधिद्वय सीता शर्मा र कमल खत्रीले लामो समयदेखि संस्कार परिवर्तनमा लागेको फल आज प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । महिलाको परिवर्तनशील सोच र पुरुषको सहयोगी व्यवहारले दुवै गाउँ छाउगोठमुक्त बनाउन सकिएको उनीहरुको भनाइ थियो ।

महिला अगुवाद्वय धनलक्ष्मी धिताल र कालिका शाही योगीले छुइछुतो गर्नु हुँदैन भन्ने कुरा शुरुमा गर्दा अपमान सामना गरे पनि अहिले आफूले रोजेको बाटोमा सबै आएको प्रतिक्रिया दिँदै खुशी लागेको बताए । घोषित कार्यक्रममा गाउँपालिकाले दुवै बस्तीका ९६ घरधुरीलाई एक एक तौलिया, साबुन र नछुने भएका महिलाका लागि प्याड वितरण गरेको थियो भने नछुने भएका महिलालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उक्त घोषणा कार्यक्रममा वडाध्यक्षहरु सन्तबहादुर शाही, सन्तवीर रावत, सिंह बुढा, हस्तबहादुर बुढा र प्रबहादुर रावतले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो तप्काबाट भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए । तिला गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल, क्याड नेपाल र एक्सन वक्र्स नेपाल जुम्लाको सहयोगमा घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो ।
रासस

प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार ००:००