२९ मंसिर
चितवनः प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो पार्टी भएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।
यस्तै दोस्रो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ ।
त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७०७ र प्रदेशसभातर्फ नौ हजार ४५८ मत प्राप्त गरेको छ । चितवनमा पाँचौ दलको रुपमा राप्रपा प्रजातान्त्रिक आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ । चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ ।
क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ ।
विराटनगरः प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली कांग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छ वटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ ।
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३१५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८९७ मत प्राप्त गरेको छ । मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १७२ मत खसेकामा ४१ हजार ५७१ मत बदर भएको थियो ।
रासस
प्रतिक्रिया