१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न



२४ मंसिर, काठमाडौँ ।
यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७३ पुरुष र एक महिला छन् ।

यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका छन् ।

आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।

समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन् । मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आइतबार बिहान १०ः३० बजेदेखि शुरु भएको जनाइएको छ ।
रासस

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार ००:००