७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’



६ मंसिर, उर्लाबारी– मोरङ ।
मिक्लाजुङ ६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिए । विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो । अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।

गोले मात्र हैनन, नुनसरी बक्राहा खोलाको बाढीले घरबारविहीन भएका दुई दर्जनभन्दा बढी घरपरिवार अहिले टहरामा बास बस्दै आएका छन् । डेढ वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरुको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ ।

“जंगली जनावरको त्रास बोकेर बास बसेका छौँ,” २२ वर्षीय डम्बर दर्जीले भने, “राति जंगली हात्तीले सताउँछ, ज्यानै जाला भन्ने डर भइसक्यो ।” अहिले चारैतिर चुनावी चहलपहल छ । स्थानीयवासी नरमाया अधिकारी आफूहरुलाई चुनाव नलागेको बताउछन् । स्थानीय तह निर्वाचनमा आश्वासन बाँडेर गएका नेता अहिलेसम्म फर्केर नआएको उनको भनाइ छ ।

“थुप्रै वाचा बाँडेर गएका थिए, फर्केका छैनन्,” उनले भने । आसन्न मंसिर १० र २१ गतेको चुनावमा उठेका उम्मेदवार कोही पनि अहिलेसम्म नआएका अधिकारीले बताए ।

अधिकारीलाई मात्रै हैन विस्थापित भएका बाढीपीडितलाई निर्वाचनबारे खासै जानकारी छैन । अहिलेसम्म चुनावी अभियान लिएर कुनै पनि दलका नेता र उम्मेदवार नपुग्दा उनीहरुमा चुनावसम्बन्धी उत्साह छैन । उनीहरु भन्छन्, “जसले बासको व्यवस्था गरिदिन्छ उसैलाई दिइन्छ भोट ।”

आँगनमा काखेबालकलाई खेलाउँदै बसेकी मनिला तामाङ गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न उम्मेदवारसंग माग गर्ने बताइन् । मिक्लाजुङ मोरङको क्षेत्र नं १ मा पर्छ । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा र कांग्रेसबाट डिगबहादुर लिम्बू उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००