१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा



युवराज पाण्डे
६ मंसिर, सिन्धुलीमाडी ।
सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवर्द्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् ।

विशेषगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले स्थानीय रुपमा साझा प्रतिबद्धता पत्र घोषणा गर्दै धरान–चतरा वैकल्पिक मार्गसंग जोडने गरी शाखा सडक सञ्जाल निर्माण गरिने र मध्यपहाडी लोकमार्गको रत्नावती तीनखण्डे–महादेवडाँडा–अरुणठाकुर–दूधौली–खोक्सा सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने जनाएको छ ।

घोषणा पत्रमा खनियाँखर्क–बाहुन तिल्पुङ–महादेवडाँडा–गहुँबारी सडकलाई पनि स्तरोन्नती गरी कालोपत्रे गर्ने, सुनकोशी नदीको पानी लिफ्टिङ गरी सिँचाइ गर्ने र पाँच वर्षभित्र सबै वडाका प्रत्येक घरमा विद्युत् सेवा प्रदान गरी लघु जलविद्युत् सम्भावना भएको स्थानमा विद्युत् उत्पादनलाई प्राथमिकता दिइने उल्लेख छ ।

रसिलो र सिमसारका लागि जंगल तथा खाली ठाउँमा बर्खे पानी जमाउने गरी पोखरी निर्माण गर्ने तथा एक गाउँ एक सार्वजनिक पुस्तकालयको नीति बनाइ सूचनामाथिको पहुँच र पढ्ने बानीको विकास गरिने पनि सो घोषणा पत्रमा उल्लेख छ ।

मरिण गाउँपालिकाकी सुनिता लामाले जिल्लामा सडक सञ्जालको समस्या नै सबैभन्दा ठूलो समस्या भएको बताउँदै सडक नभएका कारण वर्षाको समयमा बिरामीलाई अस्पताल ल्याउन नसक्ने अवस्था रहेको बताइन् ।

उनले आफ्नो गाउँमा भूकम्पपीडितले पनि राहत पाउन नसकेको अवस्था छ, उनले भनिन्– “खानेपानी र अस्पतालको टड्कारो समस्या यहाँ देखिएको छ ।” लामाले भनिन्– “दलका उम्मेदवारले जनतासंग गरेको प्रतिबद्धता व्यहारमा देख्न पाउनुपर्छ ।”

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेश क मा ४६ हजार २७० र प्रदेश ख मा ४५ हजार ८२८ गरी कुल मतदाता ९२ हजार ९८ रहेका छन् ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश क मा ५० हजार ३६७ र प्रदेश ख मा ३९ हजार ६१ गरी कुल ८९ हजार ४२८ मतदाता रहेका छन् । दुबै निर्वाचन क्षेत्र गरी यो जिल्लामा कुल एक लाख ८१ हजार ५२६ मतदाता छन् । त्यसमध्ये १३ हजार २७९ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीले जनाएको छ । दुबै निर्वाचन क्षेत्रमा गरेर कुल ८० वडा छन् ।

नौ स्थानीय तह रहेको सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा २४० मतदान केन्द्र र १३७ मतदानस्थल रहेको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य ख का उम्मेदवार प्रदीप कटुवालले साझा घोषणापत्र मार्फत आयआर्जन बढाउने र विदेश पलायन रोक्ने कार्यक्रम रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको विषयमा भएका अधूरा कामलाई पूरा गरिने बताए ।

उनले कमलामाई नदीले गरेको भूक्षय रोक्ने, बजार र बजार उन्मुख गाउँबस्तीमा विगतदेखि भोगचलनमा रहेका ऐलानी जग्गा दर्ता गरेर लालपुर्जा वितरण गरिने बताए ।

विसं २०४८ मा भएको निर्वाचनमा दुई स्थानमा नेपाली कांग्रेस र एक स्थानमा नेकपा एमाले विजयी भएको थियो भने २०५१ सालको निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र कांग्रेसले जितेको थियो । यसैगरी विसं २०५६ सालको निर्वाचनमा एमालेले दुई र जनमोर्चा नेपाल एक स्थानमा विजयी भएको थियो । तर विसं ०६४ को संविधानसभा निर्वाचनमा दुई स्थानमा तत्कालीन माओवादी र एक स्थानमा एमालेले जितेका थिए भने २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एक एक स्थानमा विजयी भएका थिए ।

नौ स्थानीय तह भएको सिन्धुलीमा तीन तीन तहमा कांग्रेस, एमाले र माओवादीले विजयी हासिल गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख राजनीतिक दलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । सुरक्षाको दृष्टीकोणले जिल्लालाई अति संवेदनशील, संवेदनशील भनेर निर्वाचनका लागि निगरानी समेत गरिएको छ ।

नेपाली कांग्रेसबाट क्षेत्र नं २ प्रदेशसभा सदस्य ख का उम्मेदवार क्षेत्रबहादुर बमञ्जनले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटकीय क्षेत्र धेरै भएकाले त्यसलाई अझ समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिँदै शिक्षा र स्वास्थ्यमा जनातको पहुँच स्थापित गरिने बताए ।

उनले जिल्लामा सडकको समस्या बढी भएकाले दुर्गम क्षेत्रमा सडक सञ्जाल जोड्ने र विद्युतीकरणको समस्या समाधान गर्ने चुनावी एजेण्डा भएको बताए ।

सन्धुलीमा २६ दशमलव ८७ प्रतिशत तामाङ, १४ दशमलव ९० प्रतिशत मगर, १३ दशमलव ६६ प्रतिशत क्षेत्री, ७ दशमलव ७९ प्रतिशत ब्राम्ह्ण पहाडी, ६ दशमलव २८ प्रतिशत नेवार, ५ दशमलव ८२ प्रतिशत दनुवार, ४ दशमलव ४७ प्रतिशत कामी, ३ दशमलव ५५ प्रतिशत सार्की, ३ दशमलव ४७ प्रतिशत माझी तथा दमाई, ढोली ३ दशमलव ०९ प्रतिशत, सुनुवार २ दशमलव ७२ प्रतिशत र घर्ती, भुजेल एक दशमलव ५२८ प्रतिशत छन् भने त्यस बाहेक अन्य ५२ वटा जातजातीको बसोबास छ ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००