कालिका खड्का
३ मंसिर, ओखलढुंगा ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा ओखलढुंगा बजारमा निर्वाचनसम्बन्धी धेरै थरिका गीत गुञ्जिरहेका छन् । यही मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका फरक फरक गीतहरू ओखलढुंगा बजारमा भोट माग्दै मतदाताको ध्यान केन्द्रित गर्न खोजेको देखिन्छ ।
चुनावीसभामा मात्र नभएर मानिसको हातहातमा भएको मोबाइलमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट प्रतिनिनिधिसभाका उम्मेदवार रामहरि खतिवडालाई विजय गराउने भोट माग्ने गीत यस्तो भन्छ।।।
‘ओखलढुंगा शहीदको जिल्ला हो,
वर्षौँदेखि कांग्रेसको किल्ला हो।।।’
यो गीत लोकगायक बालकुमार श्रेष्ठको स्वरमा नेपाली कांग्रेसका खतिवडालाई विजयी गराउन तयार पारिएको हो । कांग्रेसका चुनावी सभा, भेला, घरदैलोदेखि लिएर कांग्रेस कार्यकर्ताको मोबाइलमा समेत यो गीत ओखलढुंगा बजारमा आजभोलि यस्तै सुनिन्छ ।।।
‘कांग्रेसले नै गर्छ है विकास,
अनि पाउँछ देशले निकास ।।।’
गीतहरू सुन्दै गयो गीतमार्फत भोट माग्ने प्रतिस्पर्धाजस्तो लाग्छ । प्रतिस्पर्धी दलहरूको चुनावी गीत पालैपालो सुन्ने हो भने दोहोरी सुने झैँ पनि लाग्छ । लोकतान्त्रिक गठबन्धनको गीतलाई वाम गठबन्धनको गीतले दोहोरी फर्काए झैँ यस्तो भन्छ ।।।
‘अघि बढ यज्ञ दाइ, जनता साथमा छ,
ओखलढुंगा बनाउने तिम्रै हातमा छ।।।’
प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारलाई विजयी गराउन चर्चित लोकगायक बद्री पंगेनीले गाएको गीत हो यो । उम्मेदवारहरू सबैका आ–आफ्नै गीत बनेको छन् । कसैका धेरै कसैका थेरै मात्र हो । वाम गठबन्धनकै तर्फबाट निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार मोहन खड्काका लागि पनि गीत बनेको छ । गीतले भन्छ।।।
‘आयो आयो माओवादी आयो,
जनता ढाँट्ने फटाहा छेउ लायो।।।’
वाम गठबन्धनकै तर्फबाट निर्वाचन क्षेत्र ‘क’ का उम्मेदवार अम्बिरबाबु गुरुङका लागि पनि गीत बनेको छ । उनको गीत यस्तो छ ।।।
‘जनता झुक्याउने दुस्मनहरूको चल्दैन बहाना
सबैको प्यारो अम्बिर गुरुङ हो जनताको चाहना।।।’
पार्टीका आधिकारिक उम्मेदवार मात्र हैन यहाँका कांग्रेसबाट बागी उम्मेदवार बनेका ज्ञानेन्द्र रुम्दालीको प्रचारका लागिसमेत गीत बनेको छ ।
‘ए लैलै ज्ञानेन्द्र रुम्दालीलाई, ज्ञानेन्द्र रुम्दालीलाई,
ए लैलै भ¥याङ चिन्हमा भोट हालौँ सबले ज्ञानेन्द्र रुम्दालीलाई।।।’
यस्तै थुप्रै गीत ओखलढुंगा बजारमा सुन्न पाइन्छ । मतदाताहरूलाई पनि आजभोलि भाषण सुन्न खासै चाख लाग्दैन । भाषण एकोहोरो अनि लयमा पनि हुँदैन । तर गीत लय मिलाएर मन छुने गरी गाइएको हुन्छ । जसले जोसुकै मानिसको पनि मन तान्छ ।
चुनावमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी गीत बनाएका छन् । बाटो, घर र चुनावी सभासम्म मतदाताले आफ्ना उम्मेदवारको गीत बजाएर प्रचार गरिरहेका छन् । झट्ट सुन्दा गीतकै माध्यमबाट प्रचार गर्ने प्रतिस्पर्धा भइरहेझैँ महसुश भएको स्थानीयवासीको भनाइ छ ।
“भाषण सुन्नकै लागि भनेर जानुपर्छ तर गीतहरू मोबाइल, सवारीसाधन जता पनि सुनिन्छ, सुन्दिन भन्न पनि मिल्दैन, चुनावी गीत राम्रा छन्,” स्थानीयवासी श्याम राईले सुनाए । संगीतले केटाकेटीदेखि बूढाबूढीसम्म सबैलाई छुन्छ ।
पार्टीको नारा कण्ठ गराउनुभन्दा राम्रो माध्यम यही हो । प्रचारका लागि बनाइएको गीत अधिकांश व्यावसायिक कलाकारहरूले गाउने गरेका छन् ।
संविधानसभाको २०७० को निर्वाचनमा ओखलढुंगामा दुई क्षेत्र भएकाले सुनुवार र खतिवडाले चुनाव जिने तर नेपालको संविधान जारी भएपछि एक मात्र निर्वाचन क्षेत्र भएको ओखलढुंगामा दुवैले चुनाव जित्न सम्भव छैन ।
रासस
प्रतिक्रिया