७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा



३० कात्तिक, बेनी— म्याग्दी ।
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीको गत आव २०७३/७४ को रेकर्डअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसंग जोडिएका हुन् ।

कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।

यसैगरी पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए । ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उनले जानकारी दिए । उनका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।

त्यस्तै एडिएसएलतर्फ अनलिमिटेड इन्टरनेटको बेनीबजार, गलेश्वर र घोरेपानीमा ४३० ग्राहक रहेका छन् । भिस्याट टेलिफोनका भने जिल्लाभरि २६ जना ग्राहक रहेको टेलिकमका प्रमुख शाहको भनाइ छ । म्याग्दी जिल्लाका विभिन्न ठाउँमा गरी कूल ३१ वटा बिटिएस सञ्चालनमा रहेकामा मोबाइल २३, सिडिएमए पाँच र वाइम्याक्सको चार वटा टावर सञ्चालन गरिएको उनले बताए ।

सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको शाहले बताए । बिटिएसतर्फ अन्नपूर्ण गाउँपालिकामा छ, रघुगंगामा दुई, मंगलामा तीन, मालिकामा दुई र धौलागिरि गाउँपालिकाको तीन ठाउँमा बिटिएसहरु सञ्चालनमा रहेको प्रमुख शाहले बताए ।

सिडिएमए सेवाको मालिका, अन्नपूर्ण गाउँपालिका र नगरपालिका क्षेत्रमा टावर सञ्चालन गरिएको छ भने वाइम्याक्स सेवाको नगरपालिकासहित मालिका र अन्नपूर्णमा बिटिएस जडान गरिएको उनले जानकारी दिए ।

यस्तै भिस्याट फोन सेवाका लागि जिल्लाको ११ वटा ठाउँमा टावर सञ्चालन गरिएको बताइएको छ । चालू वर्षमा टेलिकम म्याग्दीले बिटिएस स्थापना गर्न विभिन्न आठ ठाउँका लागि आगामी योजना अगाडि सारेको बताएको छ ।

भौगोलिक विकटता रहे पनि जिल्लाको झण्डै सबै जनसंख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमले दाबी गरेको छ । जिल्लामा एनसेल मोबाइलका समेत प्रयोगकर्ता रहेका छन् भने एउटै व्यक्तिले चार पाँच वटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजना ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ता बढ्दै गएको जनाइएको छ ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००