२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा क्षेत्र नं १ मा कडा प्रतिस्पर्धा

लेखक स्थानीय खबर २४ कार्तिक २०७४, शुक्रबार २ मिनेट पढाइ

२४ कात्तिक, भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र कांग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा १ लाख ५ हजार ४७५ मतदाता रहेका छन् ती मध्ये ५२ हजार ८४६ महिला छन् ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठ आठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा नेपाली कांग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेलले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’ मा नेकपा एमालेकै गोपालचन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । अहिले उनीहरु जनतासंग मत मागिरहेका छन् ।

खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरुले अगाडि सारेका छन् ।

यस क्षेत्रमा अहिले वाम गठबन्धन बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली कांग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदीले बताए ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।