३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचार संहिता उल्लंघन गर्दै सडक निर्माण

लेखक स्थानीय खबर ३० कार्तिक २०७४, बिहिबार २ मिनेट पढाइ

३० कात्तिक, बाबियाचौर— म्याग्दी ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न डोजर लगाएर सडक निर्माण गरेको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाविरुद्ध उजुरी परेको छ ।

रघुगंगा गाउँपालिकाले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित बनाउन डोजर प्रयोग गरेको छुट्टाछुट्टै उजुरी परेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका आचारसंहिता अनुगमन अधिकृत छविन्द्र बेलवासेका अनुसार कार्यालयले दुवै गाउँपालिकालाई तीन दिनभित्र उक्त सडक निर्माणको बजेट, कार्यक्रम, लागत अनुमान र कार्यादेश, गाउँ कार्यपालिकाको निर्णयसहित कागजात मागिएको छ ।

बेनी नगरपालिका ९ घतानका खिमबहादुर चोखालले तस्वीरसहित रघुगंगा गाउँपालिकाले निर्वाचन आचारसंहिता विपरीत झिं–पाखापानी सडक निर्माण गरेको उजुरी गरेका छन् । त्यसैगरी, कांग्रेस जिल्ला सचिव मीनबहादुर कार्कीले मंगला गाउँपालिकाले कुहुँ–काउले सडक निर्माण गरिरहेको उजुरी गरेका छन् ।

अध्यक्ष, उपाध्यक्षसमेत दुई तिहाइ बहुमत कांग्रेसले नेतृत्व गरेको रघुगंगा गाउँपालिकाले कांग्रेस राप्रपाको गठबन्धनबाट प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको जन्मगाउँ पाखापानी जोड्ने सडक निर्माण गरेको हो । गर्वुजा र गौचन दुवै रघुगंगाका बासिन्दा हुन् ।

त्यसैगरी, एमाले समेत वाम गठबन्धनको पूर्ण नेतृत्व रहेको मंगला गाउँपालिकाले पनि एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित गर्न उनकै गाउँमा बस्ती जोड्ने सडक निर्माण गरेको उजुरी परेको हो ।

“निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न गाउँपालिकामा डोजर लगाएर मत प्रभावित हुने गरी सडक निर्माण भइरहेको उजुरी परेका छन्” मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले भने, “सरोकारवाला पक्षलाई पत्र लेखी सचेत गराउनुका साथै उजुरीको सत्यतथ्यमाथि अनुसन्धान शुरु गरेका छौँ ।”
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।