७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा मतदाता शिक्षा कार्यक्रम स्थगित



 

१४ कात्तिक, बैतडी । बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गते बिहीबारदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगको अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो ।

निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उनले बताए । निर्वाचन आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ ।

यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालीम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा स्वयंसेवकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत कसरी दिने, कसरी बदर कम गर्ने भन्ने विषयमा सम्पूर्ण मतदातालाई सिकाउने बताइएको छ ।

यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो । यसका साथै मतदाता शिक्षा कार्यक्रम भए नभएको बारेमा सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतले अनुगमन गर्ने पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभाका लागि १ र प्रदेश सभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन् । विसं २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००