१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन



११ कात्तिक । वाग्मति सफाई महाअभियानको २३३ औं हप्ताको अवसरमा राजधानी उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । शनिवार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको वाग्मती नदी किनारमा सफाइ गरेर व्यवस्थापन गरेको हो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६ सयभन्दा बढीको सहभागिता रहेको वाग्मती सफाई महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिए ।

सफाइमा वाग्मती सभ्यता दूत तथा नायिका मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती संरक्षण परियोजनाका अध्यक्ष नरेन्द्रराज बस्नेत, जीवन विज्ञानका एलपी भानु शर्मालगायतको सहभागिता थियो । आगामी शनिबार २३४ औँ हप्ताको वाग्मती सफाइ शान्तिनगरस्थित भी एस निकेतन विद्यालय अघि गरिने सफाइ महाअभियानले जनाएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९३ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जना भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९० औँ हप्तामा आज रातोपुल–कालोपुल– सिफल–गौशाला हुँदै पुनः रातोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको १६१ औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिका सीमा मनमैजुमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

मनोहरा नदी सफाइको ३१ औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाएको छ । मनोहरा सफाइ अभियानले जडीबुटी चोक र कोटेश्वर चोकमा उद्यान निर्माणका लागि सडक विभागसँग अनुमति लिइएको अभियन्ता रुद्र पौडेलले बताए ।

चक्रपथ सफाइको २९ औँ हप्तामा सामाखुसी चोकदेखि नयाँ बसपार्कको शिव मन्दिरसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर उठाएको छ । ग्रीनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३ सय ५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

यसैगरी मीनभवन आलोकनगर सफाईको २९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेल जानकारी दिए ।

यसैगरी चक्रपथको बाफल सफाइको ११ औँ हप्तामा सीतापाइला–बाफल–स्युचाटारसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर उठाएको छ । वि.सं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरू भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । रासस

प्रकाशित मिति : ११ कार्तिक २०७४, शनिबार ००:००