५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा बस दुर्घटना हुँदा वडाध्यक्षसहित ५ घाइते



पोखरा, १६ असोज । कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरमा बाटोमा पल्टिएर वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहनुभएका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ पनि दुर्घटनामा घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ ।

बसभित्र र छतमा गरी ५० यात्रु बोकेर पोखरातर्फ आइरहेको सो बस बाटुलेचौरमा आइपुगेपछि हिलाम्मे बाटोमा पल्टेको यात्रु राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटालेर यात्रुलाई बाहिर निकालेका थिए । प्रहरीले फरार चालक इन्द्र तामाङको खोजी गरिरहेको छ ।

यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङतर्फ गइरहेको ग१ख ४८५९ नंको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा एकापसमा ठोक्किँदा पाँचजना घाइते भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

घाइतेहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : १६ आश्विन २०७४, सोमबार ००:००