२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघ र प्रदेशको चुनावी चहलपहल शुरु




नारायण अधिकारी

चितवन, ९ असोज ।
आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्ला सम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा परिणाम पार्ने पक्षमा जुटेका छन् ।

त्यसो त आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भइसकेको छ । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन ४ नम्बर र हालको ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा उठ्ने जनाएपछि यहाँ चुनावी चर्चा अरु थपिएको छ ।

निर्वाचनमा कुन—कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्यौल रहे पनि आ–आफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने शुरु गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार असोज १० गतेभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ ।

असोज १३ गते क्षेत्रले जिल्लालाई सिफारिस गर्दैछ भने असोज १७ गते जिल्लाले केन्द्रलाई सिफारिस गर्दैछ । यससँगै आ–आफ्नो नाम सिफारिसमा पार्न जिल्लास्थित नेता दौडधूपमा रहेका छन् । गाउँ तहदेखि नै विभिन्न ढंगले चुनावी प्रचारलाई तीव्रता दिन थालिएको उनले बताए ।

स्थानीय तहमा नराम्रोगरी पराजय भोगेको नेपाली कांग्रेस चितवनले संघ र प्रदेशको निर्वाचनमा गुमेको छवि फिर्ता ल्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ । स्थानीय तहमा निकै राम्रो नतिजा ल्याउन सफल नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरु बढी उत्साहित बनेको छ । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलका अनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । यद्यपि वडा तहदेखि नगर हुँदै क्षेत्र र प्रदेशमा कार्यालय स्थापना गरेर प्रचार अभियान शुरु गरेको उनले बताए ।

निर्वाचन परिचालन कमिटी गठन गरी वडादेखि जिल्लासम्म पार्टीपंक्ति निर्वाचनमा केन्द्रीत भएको उनले बताए । निर्वाचनलाई ध्यानमा राख्दै पार्टी कार्यकर्तालाई प्रशिक्षण पनि शुरु गरिएको छ । माओवादी केन्द्र चितवनका पूर्व अध्यक्ष एवं पोलिटब्युरो सदस्य यमबहादुर परियार अभियानकै रुपमा निर्वाचन प्रचार शुरु नगरे पनि तयारी भने थालिएको बताए ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुख पद जित्न सफल माओवादी केन्द्र कांग्रेस वा एमालेसंगै मिलेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा निर्वाचित गर्न चाहेको छ ।

त्यसो त दाहाल आफैँले चितवनबाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । पार्टीका एक नेताका अनुसार दशैँपछि मुख्यालय नै चितवनमा स्थापना गरेर दाहाल आफैँ निर्वाचनमा जुट्ने तयारीमा छन् । राप्रपा प्रजातान्त्रिकले पनि चुनावी प्रचारलाई भित्रीरुपमा शुरु गरेको छ । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं ५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गरेका थिए ।

सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ । यो क्षेत्रबाट दाहालले निर्वाचन लड्ने जनाएपछि राप्रपा अन्यौलमा छ । यद्यपि क्षेत्र नं ३ बाट नै आफू निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्रीसमेत रहेका विक्रम पाण्डेले बताएका छन् । जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले असोज २५ गतेभित्र जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने बताए । अहिले गाउँ, नगर र क्षेत्रबाट सिफारिस हुने क्रम भइरहेको उनले बताए ।

केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन ५ क्षेत्रमा विभाजित थियो । जिल्लाको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्र नं १ मा पर्दछ । जसको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका वडा नं। ३, ६, ७, ८, ९, १० र ११ ‘क’ प्रदेशमा पर्दछ भने खैरहनीका बाँकी वडा र रत्ननगर नगरपालिका ‘ख’ प्रदेशमा पर्छ ।

कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका वडा नं १ देखि ७ सम्म १०, ११, १२ र २९ वडा क्षेत्र नं। २ मा पर्दछन् । यस क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ क प्रदेशमा पर्छ भने भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११, १२ ‘ख’ प्रदेशमा पर्छ ।

क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगरपालिका पर्छ । भरतपुर महानगरपालिका ६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् । दोस्रो चरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ००:००