खोटाङ, २० भदौ । किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिए । “किरातीलाई मुख्यमन्त्री बनाउन एकबुथ एक फोर्स, एक एकबुथ एक किरात मोर्चा तयार गरेका छौँ ।” उनले भने, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौँ ।”
सो अवसरमा मोर्चाको प्रदेश नं ३ को भेलासमेत आयोजना गरिएको र बैठकमा अध्यक्ष राजन किराती वासु, उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेलीलगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षणसमेत दिएको जनाइएको छ । पूर्व संस्कृति तथा पर्यटनमन्त्री भइसकेका गोपाल किराती हाल नेकपा माओवादी केन्द्र का सचिवालय सदस्य एवं १ नं प्रदेशका संयोजक हुन् ।
किरातीलाई यसअघि विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले समेत प्रदेश नं १ को मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
रासस
प्रतिक्रिया