Logo

फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने




फलेवास
— पर्वत, १३ भदौ । पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो ।

नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाउ निकासी पैठारी गर्नेबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिकाभित्र उत्पादन हुने कृषि जन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषिजन्य उत्पादनको फरक फरक दररेटसमेत कायम गरिएको छ । न्यूनतम एक देखि १०० सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आह्वान गरिएको समेत शर्माले जानकारी दिए ।

नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक मितव्ययीरुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाइ छ ।

सुन्तला तथा अमिलो जातका वस्तु, तरकारी बीउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैँची, अदुवा बेसार, मह तथा माहुरीका गोला, दूध निकासीबापत कर लगाइने भएको हो । त्यसैगरी, बाख्रा, भेडा, खुकुरा, गाईभैँसी, राँगा, बंगुर, कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तलब भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताए ।

नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्नका लागि टेण्डरसमेत आह्वान गरिएको छ । सदरमुकाम कुश्माबजारसंग जोडिने फलेवास नगरपालिका– ४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुंगे पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङ्दी खोला पुल र स्यांजा र कुश्मा नगरपालिकासंग जोडिने अर्को नाका फलेवास नगरपालिका– १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको भनाइ छ ।

नयाँ नगरपालिकाको रुपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमूनाका रुपमा कृषिजन्य वस्तुमा कर लगाएको हो । यसअघि कुश्मा नगरपालिकाले भने कृषिजन्य वस्तुमा कर लगाएको थिएन अन्य पाँचवटा गाउँपालिकाले पनि कृषिजन्य वस्तुमा कर लगाउने कार्यविधि बनाए पनि कार्यान्वयन भने गर्न सकेका छैनन् ।

भर्खरै बनेको नगरपालिकामा कृषकलाई मार पर्नेगरी कर उठाउने निर्णय भएपछि कतिपय कृषक असन्तुष्ट बनेका छन् । निर्वाहमुखीरुपमा गर्दै आएको व्यवसायमा समेत कर उठाउने कार्य जायज नहुने स्थानीयवासी नारायण श्रेष्ठले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्