१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीको बहाव बढेपछि माझी समुदाय त्रस्त




फलेवास
(पर्वत), ३१ साउन । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि यहाँको माझी बस्तीका बासिन्दा त्रस्त भएका छन् ।

कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका १ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन् । गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरबार गुमाएका उनीहरु पुनः यसवर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन् ।

मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकीकहाँ बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय गणेश माझीले जानकारी दिए । कतिबेला पूरै घर बगाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको उनले बताए ।

भूकम्पका कारण हल्लिएको पहाडबाट खसेको पहिरोले बस्ती पुरिएपछि पुनः बसोबासका लागि सो ठाउँ अनुपुक्त भएको थियो । स्थानीय सुकुम्बासी गणेश माझीले वर्षायाममा पानी पर्दा भिर पहरो र कालीगण्डकी नदी हेरेर बस्नुको विकल्प नभएको बताए ।

“जाने ठाउँ अन्त कतै छैन, ढुक्कसंग बस्न कहिल्यै पनि पाइएको छैन ।” पहिरो गएको बेला स्थानीय प्रशासन र सुरक्षा निकायले पन्छाउने काम गरे पनि बैकल्पिक उपाय नदेखाएको उनले गुनासो गरे ।

वर्षा हुँदा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनबहादुर माझीले बताए । उनले भने “बगरमा रहेको घर कतिबेला बगाउने हो केही टुंगो छैन” । उनीहरुले वर्षेनी पुनर्वासको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताएका छन् ।

उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेशा बंगुरपालन र बालुवा निकाल्ने हो । बालुवामा निर्भर भएका उनीहरु आर्थिक अभावका कारण उक्त स्थानबाट स्थानान्तरण हुन नसकेकाले बैकल्पिक बासस्थानको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाई माग गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र विपत्ति आउने अवस्था देखिएमा प्रहरी प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी दक्षिण पर्वतको सेतीवेणीमा पनि नदीको बहाव बढेको छ । तर कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधका सबै ढोका पूर्णरुपमा खोलिएकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भएकाले परियोजनाका सबै ढोका खोलिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००